साताको सुरुको दिन सेयर बजार ३६.२७ अंकले ओरालो लागेको छ । केही सातादेखि नै लगातार ओरालो लाग्ने क्रममा रहेको बजार आइतबार १७३०.६४ अंकमा झरेको हो । आइतबार कारोबार सुरु भएदेखि नै बजार घट्ने क्रममा थियो । कारोबार रकममा भने केही सुधार देखिएको छ । गत साताको अन्तिम दिन एक अर्बभन्दा मुनि झरेको कारोबार रकमले आइतबार एक अर्ब नाघेको छ । दिनभरिमा एक सय ३७ वटा कम्पनीको ११ लाख ५३ हजार दुई सय ६५ कित्ता सेयर पाँच हजार सात सय १३ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब पाँच करोड ६२ लाख ९९ हजार दुई सय ६४ रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।
आइतबार कारोबार भएका सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह २४७.७१ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः २८.४९, ६२.४, ५५.७७, ५७.१५, १४.३९, ३९.९९ र १०.७ अंकले घटेका छन् ।
कारोबार रकमका आधारमा आइतबार एभरेष्ट बैंक अग्रस्थानमा छ, जसको ११ करोड ६८ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ । कृषि विकास बैंकको पनि झन्डै साढे ११ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको झन्डै पौने आठ करोड रुपैयाँको कारोबार हुँदा नेशनल लाइफ इन्स्योरेन्सको झन्डै पाँच करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको झन्डै चार करोड रुपैयाँको कारोबार हुँदा सिद्धार्थ बैंकको झन्डै पौने चार करोड रुपैयाँ र सनराइज बैंकको तीन करोड ६२ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । नविल बैंक, माछापूछ्रे बैंक, सानिमा बैंक लगायतको दुई करोडभन्दा माथिको कारोबार भएको छ ।
कमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको ङादी पावर ग्रुपका लगानीकर्ताले आइतबार ९.८१ प्रतिशतका दरले कमाएका छन् । एनबी इन्स्योरेन्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, एभेरेष्ट बैंक, रिलायबल माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त लगायतले पनि कमाएका छन् । यसबाहेक, एनबी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र जानकी फाइनान्सका लगानीकर्ताले एक प्रतिशतभन्दा कमका दरले कमाएका छन् ।
रिलायन्स लोटस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.४४ प्रतिशतका दरले गुमाउँदा एभरेष्ट बैंक (सीपी), निर्धन उत्थान बैंक, एनएमबी माइक्रोफाइनान्स, डिप्रोस्क डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक, एनआईडीसी क्यापिटल मार्केट्स र नेरुडे लघुवित्तका लगानीकर्ताले सात प्रतिशतभन्दा बढीले गुमाएका छन् । छिमेक लघुवित्त, नेपाल ग्रामीण विकास बैंक लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।