Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वार्षिक १ लाख बढी युवालाई स्वरोजगार बनाउनुपर्छ : विश्वमोहन अधिकारी(भिडियोसहित)

२०७९ असार १७ गते

विश्वमोहन अधिकारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक हुनुहुन्छ । लामो समय बैंकिङ क्षेत्रमा बिताउनुभएका उहाँ तत्कालिन ओम डभेलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहनुभएको थियो । सो बैंक एनएमबि बैंकमा विलय भएसँगै उहाँ पनि बैंकिङ क्षेत्रबाट बाहिरनुभयाे । त्यसपछि उहाँ २०७८ भदौदेखि युवा स्वरोजगार कोषको कार्यकारी निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ आइसकेपछि युवा स्वरोजगार कोषले गति लिएको छ । कोषले साना व्यवसायीहरुको वित्तीय आवश्यकता पूरा गर्न लगानी गर्दै आएको छ ।

बैंकिङ ऋणको लागि पहुँच नभएका साना व्यवसायीहरुमा बिनाधितो ऋण प्रदान गर्ने कोषले हालसम्म ८४ हजारभन्दा बढीलाई स्वरोजगार बनाएको छ भने आगामी आर्थिक वर्ष १२ हजारलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । यसैबीच हामीले कार्यकारी निर्देशक अधिकारीसँग कोषको बारेमा केन्द्रित भएर कुराकानी गरेका छौं । प्रस्तुत छ निर्देशक अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंशः

युवा तथा साना व्यवसायी स्वरोजगार कोष भनेको के हो ? यसले के काम गर्छ ?

देशमै पूँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पूँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल सरकारबाट वि.स. २०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरिएको हो । कोषले उत्पादनशील श्रमको अधिकतम उपयोग तथा उद्यमशीलताको विकासमार्फत् परम्परागत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार नै अहिले संस्था अगाडि बढी रहेको छ ।

वैदेशिक रोजगारीलाई दीर्घकालिन बनाइनु हुन्न भनेर युवा स्वरोजगार कोषको स्थापना भएको हो । जसले देशभरी स्थानीय स्रोत र साधनको प्रयोग गरेर विशेषत उत्पादनसँग सम्बन्धित विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने गर्दछ । नेपालीहरुलाई आफ्नै देशमा बसेर उत्पादनसँग समाहित गर्ने काम कोषले गर्दछ । समष्टिगत रुपमा भन्दा यस कोषले निम्नअनुसार काम गर्दै आएको छ ।

  • रिक्सा, अटोरिक्सा, ठेलागाडा व्यवसाय, दूधजन्य व्यवसाय, प्लम्बिङ, इलोक्ट्रोनिक्स तथा इेक्ट्रिकल, साना तथा घरेलु व्यवसाय, सिकर्मी तथा डकर्मी, रङ्ग रोगन, सिल्पकार, खुद्रा तथा किराना पसल सञ्चालन जस्ता स्वदेशी श्रम, सीप, ज्ञान एवम् सानो पूँजीबाट सञ्चालन गर्न सकिने स्वरोजगार कार्यमा ऋण उपलब्ध गराउने ।
  • स्थानीय सीप र कच्चा पदार्थमा आधारित तथा स्थानीय स्तरमा उत्पादन हुने बस्तुको व्यवसायीकरणमा योगदान पुग्ने कार्यक्रम सञ्चालन गर्ने ।
  • एक गाँउ एक उत्पादन र एक परिवार एक रोजगार जस्ता परियोजनामा लगानी गर्ने ।
  • मूल्य श्रृंखला भएका व्यवसायहरुलाई प्राथमिकता दिने ।
  • व्यवसायिक कृषि, पशुपंक्षी पालन, माछापालन, वन, खानी तथा कृषिजन्य उद्योग र बहुमुल्य पत्थर उद्योग लगायतका उच्च प्राथमिकतामा राख्ने ।
  • युवा व्यवसायीलाई स्वदेशमा नै साना तथा घरेलु व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्दै स्वरोजगारका अवसरहरु स्वदेशमा नैं सिर्जना गर्दै आय आर्जनका लागि क्षमता अभिवृद्धि गर्ने एवम् गरिबी निवारण गर्ने, राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउने ।

तपाई कार्यकारी निर्देशक भइसकेपछि के-के कुरामा परिवर्तन भयो ?

सरकारले हिजोका दिनमा भन्दा उत्कृष्ट प्रस्तुती दिन सक्ने व्यक्तिहरु नियुक्तिका लागि विभिन्न पोलिसीहरु निर्माण गरेको छ ।  त्यस्तै पोलिसी अनुसार पछिल्लो क्रममा कर्पाेरेट क्षेत्रका व्यक्तिहरुलाई हायर गरेर ल्याउने क्रममा मेरो आगमन भएको हो । २०७८ भदौ २१ देखि मेरो आगमन भयो ।

जुन बेला नेपाल मात्र होइन, विश्व नै कोभिडका कारण आक्रान्त बनेको थियो । त्यस्तो अवस्थामा पनि हामीले प्रदान गर्ने सेवामा कमी आउँन दिएनौं । तर, युवा स्वरोजगारका सबै कार्यहरु फिल्ड बेसमा हुने भएकाले कठिनाईको बाबजुत पनि काम गर्नुपर्यो ।

पछिल्लो समय कर्पाेरेट तरिकाबाट सरकारले लिएको लक्ष्य उद्देश्य हासिल गर्नेगरी काम भइरहेको छ । सेवा प्रदानको हिसाबमा पनि फरकपन ल्याएको छु भन्ने लाग्छ । युवा स्वरोजगार कोषमा आउने क्रममा मैले केही योजनाहरु प्रस्तुत गरेको थिएँ । त्यही योजना अनुसार अहिले काम भइरहेको छ । त्यसमा पनि हामीले वर्षभित्र के गर्न सक्छौं भनेर योजना बनायौँ । सर्भीसको क्वालिटीमा गर्न सकिने परिर्वतनहरुलाई पनि कार्यान्वयनमा ल्याएका छौं । ह्युमन रिसोर्सको व्यवस्थापन लगायतका विषयमा पनि हामीले काम अगाडि बढाएका छौं ।

छोटो समयमा दिने सेवालाई प्रभावकारी बनाउने प्रयासमा हामी सँधै लागि रहेका छौं । सरकारले चालु आर्थिक वर्षमा १२ हजार युवालाई स्वरोजगार बनाउनुपर्ने लक्ष्य लिएको थियो । कोरोनाका कारण पूरा गर्न सकिन्न की भन्ने सन्देह थियो । तर असारको पहिलो हप्तामै हामीले त्यो लक्ष्य पूरा गरिसकेका छौं ।

तपाईलाई कुलमान घिसिङ र बालेन शाहसँग दाज्दैछन्, के-के योजना छन ?

राजनीति देशको मेरुदण्ड हो । राजनीतिमा केही समस्या देखियो भने त्यसको असर कर्मचारीहरुमा पनि देखिने रहेछ । म आफैँ एक सरकारी कर्मचारी हुँ । तर कर्मचारीहरु सुध्रिनु आवश्यक छ । हामीले गर्ने कामहरु जनता र सेवा केन्द्रित हुनुपर्दछ ।

हामी राष्ट्र सेवक कर्मचारी हौं । ऐनले हामीलाई तलब भत्ता लिएर पनि राष्ट्र सेवक कर्मचारीको रुपमा परिभाषित गरेको छ । तर हाम्रा कामहरु राष्ट्र सेवकले गर्ने खालका छन् ?, हामीले त्यस्तो तवरबाट काम गर्न सकेका छौं त ? यसको उत्तर खोज्नु पर्दछ ।

मलाई लाग्छ, सेवाग्राहीले खोजेको जस्तो सेवा प्रदान गर्न हामीले सेकेका छैनौं । उनीहरुको अपेक्षा अनुरुपको काम गर्न सकेका छैनौं । स्वरोजगार सृजना गर्ने विषयमा हामीले केही फरक ढङ्गबाट अगाडि बढ्नुपर्दछ । त्यसको लागि सफल बनेका व्यक्तिका कार्यक्रमहरुलाई पनि फलो गर्नुपर्ने हुन सक्छ ।

केही काम गर्नको लागि सबैभन्दा पहिला आफैबाट शुरु गर्नुपर्दछ । कर्मचारीहरुमा देखिएका कमजोरीलाई मैले म आफैबाट सुधार गर्नुपर्दछ । आफूमा देखिएको समस्या समाधान भएमा आफूले गर्ने कार्यसम्पादन राम्रो बन्दछ । त्यसले गर्दा आफू कार्यरत संस्थाको प्रफमेन्स राम्रो बन्दछ । जुनसुकै क्षेत्रको भएपनि आफ्नो क्षेत्रबाट केही करेक्सन भएर अगाडि बढ्न सकेमा पक्कै राम्रो हुनेछ ।

कोषले कति युवालाई स्वरोगार बनायो, कतिलाई बनाउँदैछ ? र योजना के–के छन ?

सरकारले हामीलाई जति स्रोत साधन उपलब्ध गराएको छ । त्यो स्रोतको आधारमा आगामी आर्थिक वर्ष २०७९-८० मा १२ हजार युवाहरुलाई स्वरोजगार बनाउनुपर्ने छ । जुन लक्ष्य हाम्रो चालु आर्थिक वर्षमा पनि थियो । त्यो लक्ष्य हामीले असारको पहिलो साताभित्रै पूरा गरिसकेका छौं ।
१०-१२ हजार युवालाई स्वरोजगार बनाएर मात्र पुग्दैन, यो भन्दा धेरै युवाहरुलाई स्वरोजगार बनाउनुपर्दछ । कोषमार्फत १२ हजार युवा स्वरोजगार बनेका भएपनि अन्य संघसंस्थाहरु मार्फत पनि सीप सिकाएर स्वरोजगार बनाउने लक्ष्य सरकारले लिएको छ । अर्काे तर्फ हामीले बनाएका योजनाहरुबाट सरकारले लिएको लक्ष्य पूरा गर्नका लागि मद्दत पुग्छ । हिजोका दिनमा देखिएका कमजोरीहरुबाट पाठ सिकेर भोलिका कार्यक्रमहरुलाई नयाँ ढङ्गबाट अगाडि लैजानु पर्ने योजनाहरु हामीसँग छन् ।

कोषबाट सेवा लिनका लागि सामान्य नागरिकको पहुँच पुग्दैन भन्छन् ? वास्तवमा के हो ?

युवा स्वरोजगार कोषले प्रयाप्त धितो नभएका व्यक्तिहरुलाई समेट्ने गर्छ । जोसँग बैंकसम्म पुग्ने पहुँच नभएपनि उद्यमशिलता छ, त्यस्ता व्यत्तिलाई कोषले सहयोग गर्ने हो । एक आर्थिक वर्षमा १२ हजार निम्नवर्गीय व्यक्तिहरुलाई वित्तीय सहयोग गर्ने कोषको सीमा हुन्छ । तर ३०-४० हजार युवाहरुको आवेदन कोषमा पर्छ । त्यसैले गर्दा त्यस्तो गुनासो आएको हुनसक्छ । हामीसँग क्षमता नभएर कर्जा माग्ने सबैलाई दिन सक्दैनौं, कोषले आफ्ना मान्छेलाई मात्र कर्जा दियो भन्ने आरोप कर्जा नपाउँनेहरुको हुनसक्छ ।

यति भन्दाभन्दै हामीले सुधार्नुपर्ने विषयहरु पनि छन् होला । त्यस्तो देखिएमा हामी तत्काल सुधार गरेर अगाडि बढछौं । अर्काे कर्जाको लागि आवेदन दिने व्यक्तिहरुले पनि आफ्नो योजनालाई व्याख्यात्मक रुपमा लिएर आउनुभयो भने हामी सहयोग गर्नका लागि तयार छौं ।

नेपालमा उद्यमशिलताको विकासका लागि के गर्नुपर्छ ?

नेपालमा उद्यमशिलताको विकास होइन, अंकुरणको अवस्था नै कमजोर छ । हाम्रो देशको राजनीतिक संस्कारले उद्यमशिलतालाई प्रश्न चिन्ह खडा गरेको छ । नेपालमा १० लाखभन्दा बढि मानिसहरु राजनीतिक पार्टीको अगाडि–पछाडि हिड्ने गरेका छन् । युवाहरु केही कामै नगरी, उद्यमशिलता नगरी, उत्पादनमा सहभागी नभई त्यो ढङ्गबाट हिँड्दा उद्ययमशिलतामा प्रश्न उठेको हो ।

पछिल्लो समय उद्योग वाणिज्य महासंघ, सीटीईभीटी, हामी जस्तै विभिन्न कोषहरुले उद्यमशिलता विकासका लागि केही काम गर्न खोजेका छन् । तर त्यो प्रयाप्त छैन । उद्यमशिलताको लागि सरकारले पनि योजना निर्माण र कार्यान्वयनको पाटोलाई अझै बलियो बनाउनु पर्छ । योजना राम्रा बनाउने तर कार्यान्वयन नगर्ने हाम्रो परिपाटी छ । त्यसको अब अन्त्य हुनुपर्दछ । नीतिगत रुपमा राम्रो हुँदाहुँदै पनि कार्यान्वयनमा चुक्दा उद्यमशिलताको समस्या देखिएको हो ।

उद्यमशिलताको विकास होइन, अंकुरणमा नै समस्या देखिएको बताउनुभयो, यस्तो समस्या देखिनुको कारण के हो ?

विगत १०-१५ वर्षमा सरकारमा पुगेका राजनीतिक पार्टीले अपनाएको नीति भनेको पूर्ण पुँजीवादी अर्थनीति नै हो । समाजवाद् उन्मुख अर्थतन्त्र भनेर संविधानमा लेखिएको भएपनि दलहरुले लिएको नीति त्यस्तो बन्न सकेन् ।

दलहरुले आफ्नो घोषणा पत्रमा जे लेखेको भएपनि अबलम्बन गरेको अर्थनीति पुँजीवादी बन्न पुग्यो । त्यसैले गर्दा उद्यमशिलताको विकास हुन सकेन । हाम्रो मुलुकमा गरिबीको रेखाभन्दा तल भएका मान्छेहरु धेरै छन्, उद्यमशिलताबारे नबुझेका मान्छेहरुको संख्या अत्याधिक छ । यसले गर्दा उद्यमशिलता फस्टाउन पाएको छैन ।

२०४६-४७ साल पछाडि उद्यमशिलताको थोरै अंकुरण हुन लागेको थियो । त्यसको ५-७ वर्ष केही काम पनि भएको थियो । तर त्यस भन्दा पछाडि सरकारमा पुगेका राजनीतिक दलहरुले लिएको अर्थनीतिका कारण उद्यमशिलताको विकास हुन सकेन ।

बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताउनुभयो । कोषले पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित हरेर काम गर्नुपर्दा सजिलो पक्कै भएको होला । तर कठिनाईहरु पनि होलान्, के-के छन ?

मैले २४-२५ वर्ष बैंकिङ क्षेत्रको उच्च पदमा रहेर काम गरे । अहिले युवा स्वरोजगार कोषको काम पनि बैंक वित्तीय क्षेत्रसँग सम्बन्धित र त्यस्तै प्रकृतिको छ । तर यो सरकारी कोष हो । कर्पाेरेट क्षेत्रको काम र सरकारले गर्ने कामको प्रकृतिमा धेरै फरक हुँदो रहिछ ।

उत्तरदायित्व, काम गर्ने तरिका, सर्भीस डेलिभरी सिस्टममा धेरै फरकपन पाएको छु । मलाई लाग्छ सरकारले पनि कर्पाेरेट क्षेत्रले दिने सर्भीस स्टाइललाई कपी गर्नुपर्छ । सरकारी कार्यालयहरुले पनि आफ्नो सेवालाई कर्पाेरेट सेक्टरले जस्तै छिटो छरितो बनाउनु पर्छ । त्यसो गर्न सकेमा कामको प्रभावकारिता पनि देखिन्छ र सेवाग्राहीले पनि चाँडो सेवा प्राप्त गर्न सक्छन् ।

अन्त्यमा भन्नै पर्ने केही कुरा छुट्यो की ?

युवा स्वरोजगारले गनुपर्ने कामहरु धेरै बाँकी छन् । सरकार र सम्बन्धित मन्त्रालयहरुलाई मैले अनुरोध पनि गरिरहेको छु । हामीसँग वर्षमा १२ हजार युवालाई मात्र होइन, १ लाखभन्दा बढीलाई स्वरोजगार बनाउन सक्ने क्षमता छ । त्यसमा सरकारले केही समन्वय गर्दै सरकारले स्रोत र साधन व्यवस्थापन गरिदिनुपर्दछ । त्यसको लागि सरकारलाई मैले अनुरोध गरिरहेको छु ।

Ad