Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको सीडी रेसियोमा सुधार, एकै दिन ५ अर्ब निक्षेप थपियो

२०७९ असार १३ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको सीडी रेसियो अर्थात् कर्जा र निक्षेपको अनुपातमा सुधार आएको छ । २७ वटै वाणिज्य बैंकहरुको समग्र सीडी रेसियो ९० प्रतिशतभन्दा कम देखिएको हो ।

बैंकहरुले चालू आर्थिक वर्षको अन्त्यमा ९० प्रतिशत सीडी रेसियो कम गर्नुपर्ने बाध्यता छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले ९० प्रतिशत निक्षेप र कर्जाको अनुपात हुनुपर्ने व्यवस्था गरेको छ । जुन व्यवस्थाको कारणले बैंक तथा वित्तीय कमपनीमा चाप परेको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले आफ्नो पहिलो त्रैमासिक समीक्षामार्फत असार मसान्तसम्मलाई छुट दिएको थियो ।

तर त्यसको लागि बैंक सञ्चालक समितिले निर्णय गरेर सो जानकारी राष्ट्र बैंकलाई गराउनुपर्ने उल्लेख थियो । नेपाल राष्ट्र बैंकका अनुसार समग्र बैंकहरुको औसत सीडी रेसियो ८९ दशमलव २६ प्रतिशत छ ।

गत शनिबारसम्म बैंक तथा वित्तीय संस्थामा ४९ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा आइतबार एकै दिन ५ अर्ब थपिएको हो । आइतबारसम्ममा ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको देखिएको हो ।

आइतबार कर्जा प्रवाह भने शनिबारसम्म ४७ खर्ब ६ अर्ब रहकोमा आइतबारसम्ममा ४७ खर्ब ५ अर्ब कायम भएको छ । वाणिज्य बैंकहरुको अहिलेसम्मको निक्षेप ४४ खर्ब १ अर्ब रहेकोमा कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।