Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक वित्तमा पब्लिक ट्वाईलेट: सुरक्षाका दृष्ट्रिमा कति जायज ?

२०७९ असार १२ गते

बैंकिङ खबर/ काठमाडौं महानगरपालिकाले बैंकका शौचालयलाई समेत सार्वजनिक बनाउने अभियान शुरु गरेको छ। मेयर बालेन्द्र शाहले काठमाडौंका बैंक, होटल रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक गर्ने घोषणा गरेसँगै महानगरले सहकार्यको लागि सूचना जारी गरेरै यो अभियानमा लागेको हो । काठमाडौं महानगरपालिकाको जेठ १६ गते बसेको कार्यपालिका बैठकले सर्वसाधरणको शौचालयमा सहज पहुँच अभिवृद्धि गर्न महानगरका व्यावसायिक कम्पनी तथा संस्थानसँग सम्झौता गर्ने निर्णय गरेको थियो ।

महानगरभित्रका बैंक, होटल, रेष्टुरेन्ट, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघ–संस्थाको शौचालयलाई सार्वजनिक बनाउन’ सार्वजनिक आह्वान समेत गरेको थियो । महानगरले इच्छुक सरोकारवाला व्यक्ति तथा निकायले सूचना प्रकाशित भएको ७ दिनभित्र सार्वजनिक निजी साझेदारी एकाइ बबरमहलमा सम्पर्क गर्न अनुरोध गरेको थियो । सोही बमोजिम विभिन्न बैंकहरुले समेत महानगरको अभियानमा साथ दिँदै आफ्ना शौचालयलाई पब्लिक शौचालय बनाउन थालेका छन् । 

महानगरपालिकाको अभियानलाई साथदिँदै पहिलो पटक नबिल बैंकले काठमाडौंका आफ्ना १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको पाइन्छ । काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउन सहमति समेत भएको छ । सोही अनुसार अहिले नबिलका बैंकका शौचालय सार्वजनिक शौचालयका रुपमा परिणत भएका छन् ।

केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, जोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्युरोड, कालीमाटी र शंखमूलस्थित बैंकमा सर्वसाधारणले निःशुल्क शौचालय गर्न पाउनेछन् । शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गरेको छ ।

यता सांग्रिला डेभलपमेन्ट बैंकले पनि आफ्नो केन्द्रीय कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने भएको छ । काठमाडौं महानगरपालिकाले महानगर भित्र संचालनमा रहेका होटल, रेष्टुरेण्ट, बैंक, व्यवसायिक कम्प्लेक्स, सपिङ्ग मल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रुपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेको थियो ।

सोही अनुरुप काठमाडौं महानगरपालिका कार्यालयसँग समन्वय गरी सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निशुल्क प्रयोग गर्न दिने निर्णय गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र काठमाडौं महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका तर्फबाट निधि न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

डेभलपमेन्ट बैंक र महानगरपालिकाबीच भएको सम्झौता अनुसार यस बैंकको केन्द्रीय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणले प्रयोग गर्न सक्ने सक्नेछन् । बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडौं महानगरपालिकाको प्रयासमा सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ । केन्द्रीय कार्यालय बिहान ९ः३० वजे देखि ५ बजे सम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमा यस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यता सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी, काठमाडौँस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउन शुरु गरेको छ ।

काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेको थियो।

सोही निर्णय बमोजिम सिटी एक्सप्रेस मनी ट्रान्सफरले ऐक्यवद्धता जनाउँदै आफ्नो प्रमुख कार्यलयको भुइतल्लामा अवस्थित शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिइने भएको छ । काठमाडौं महानगर प्रहरी बलका प्रमुख धनपती सापकोटाद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरिएको थियो ।

काठमाडौं महानगरपालिकाका अनुसार हालसम्म कामना सेवा विकास बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर लगायतका बैंक तथा वित्तीय संस्थाहरुले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउने सम्झौता गरिसकेका छन् । यस बाहेक अन्य संघसंस्थाहरु पनि काठमाडौं महानगरको अभियानमा सहभागी बनेका छन् ।

बैंक कति सुरक्षित ?

उसो त काठमाडौं उपत्यकाकै बैंकवित्तमा विगतमा पनि चोरी, एटिएम तोडफोड लगायतका घटनाहरु नघटेको भने होइन् । बैंकवित्त जस्तो सुरक्षाका दृष्ट्रिकोणले संवदेनशिल क्षेत्रका शौचालयलाई सार्वजनिक गरिनु सुरक्षाको दृष्टिले पनि जोखिमपूर्ण रहेको कतिपयको तर्क छ । यो विषयलाई बैंकिङ सुरक्षाको दृष्टिकोणले समेत हेर्न थालिएको छ ।

महानगरको योजनामा बैंकहरुले हातेमालो गर्नु सकारात्मकः बैंकर्स संघ

यता नेपाल बैंकर संघका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल शर्मा महानगरको योजनामा बैंकहरुले हातेमालो गर्नु सकारात्मक विषय भएको बताउनुहुन्छ । विगतमा पनि बैंकका शौचालयहरु सर्वसाधारणका लागि खुला नै भएतापनि त्यो विषयले त्यति चर्चा नपाएको सिईओ शर्मा बताउँछन् ।
उनी भन्छन्, ‘महानगरले शुरु गरेको अभियानमा बैंकहरु स्वस्र्फूत रुपमा सहभागी बनेका छन् । यसका लागि कतैबाट स्वीकृति लिनुपर्ने प्रावधान छैन् ।’

‘कुनै समस्या देखा परे राष्ट्र बैंकले सम्बोधन गर्छ’

यता नेपाल राष्ट्र बैंकले बैंकका प्रवक्ता डा. गुणाकर भट्ट शौचालय आम नागरिकले प्रयोग गर्दा सुरक्षा चुनौति नबढ्ने बताउनुहुन्छ । बैंकमा सुरक्षकर्मी पनि हुने भएकाले सुरक्षा चुनौती नथपिने उहाँको विश्वास छ ।

‘महानगर र बैंकहरुबीचको सम्झौतामा राष्ट्र बैंकको कुनै भूमिका छैन, भोलिका दिनमा कुनै समस्या देखा परेमा राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने अवस्था आउन सक्ला’ प्रवक्ता भट्टले भने ।

 

Ad