June 22nd, 2022

ब्याजदर अझै बढ्न सक्छ : गभर्नर अधिकारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरुमा ब्याजदर बढ्दै गएको भन्दै अझै ब्याजदर बढ्नसक्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताउनुभएको हो । उहाँले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने पनि बताउनुभयो । अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चितिसमेत सिध्याउँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल श्रीलंकाकै अवस्थामा पुग्ने बताउनुभयो ।

उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखेमात्रै मुुलुकको अर्थतन्त्र लयमा आउने बताउनुभयो ।

गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्सले उत्पादन नभइ विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताउनुभयो । श्रीलंकाले लिटेसँग लडाइँ गर्दा पनि नभोगेको अर्थतन्त्रको चुनौती अहिले त्यहाँका जनताले भोगेको भन्दै गभर्नर अधिकारीले नेपालले पनि उत्पादकत्व वृद्धिमा जोड नदिएर आयात मात्रै गरे श्रीलंकाकै अवस्था हुने बताउनुभयो ।

मौद्रिक नीति राष्ट्र बैंकको उद्देश्य अनरुप सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी ल्याइने पनि उहाँको भनाइ छ । गभर्नर अधिकारीले मौद्रिक नीति बनाउनको लागि सरकारको बजेटले दिएको मार्ग दिएको उहाँले बताउनुभयो ।

अधिकारीले उद्योगी व्यवसायीहरुले बढेको ब्याजदरमा सबैले स्वीकार्नुपर्ने समेत बताउनुभयो । अर्थतन्त्रका लागि जिम्मेवार पक्षहरु सबैजना आआफ्ना दायित्वमा इमानदार भएमात्रै अहिलको शंकटको सामना गर्न सकिने उहाँको भनाइ छ । अधिकारीले कोभिडको समयमा मौद्रिक नीति सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने ल्याउन चुनौतीपूर्ण भएपनि राष्ट्र बैंकले ल्याएर सबैका मागलाई सम्बोधन गरेको बताउनुभयो ।

राष्ट्र बैंकले ल्याउँदै आएको मौद्रिक नीति कुनै एउटा क्षेत्र, व्यक्तिभन्दा पनि समग्र अर्थतन्त्रको माग अनुसार लिएर आउने उहाँको भनाइ छ ।
गभर्नर अधिकारीले गत वर्षको मौद्रिक नीति अर्थतन्त्रको स्थायित्व दिनको लागि ल्याएपनि केही क्षेत्रमा असर परेको स्वीकार गर्नुभयो ।
मौद्रिक नीति बनाउँदा वा कुनै काम गर्दा सुधार गर्ने कुरा छोड्यो भने समस्या आउने भन्दै मौद्रिक नीति सुधार भएर आउने पनि उहाँले संकेत गर्नुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]