दोर्दी खोलाको आईपीओ बाँडफाँट, पिपुल्सको आजदेखि खुल्यो


Bankingkhabar /June 22, 2022

बैंकिङ खबर/ दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बुधबार बाँडफाँट भएको छ। कम्पनीले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओ बिहान ९ बजे बाँडफाँट गरेको हो । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट गरिएको हो।

कम्पनीको आइपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको थियो। सोमध्ये १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएको छ भने बाँकी ८८२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। स्वीकृत आवेदनमध्ये २ लाख १ हजार ९८६ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाएका छन्। सोमध्ये पनि भाग्यमानी ९ जनाले थप एक कित्ता प्राप्त गरेका छन्। अर्थात् भाग्यमानी ९ आवेदकले ११ कित्ता पाएका छन्।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर मात्रै सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो।

माग भन्दा बढी आवेदन परेकोले कम्पनीको शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गरेको हो।

पिपुल्स पावर लिमिटेडको आईपीओ खुल्ला

पिपुल्स पावर लिमिटेडको आईपीओ आजदेखि खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये इलाम जिल्ला इलाम नगरपालिका वडा नं. १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद साउन ४ गतेसम्म लम्बिनेछ।

 

 

Spread the love

सोसिअल मेडिया