June 21st, 2022

हिमालयन हाइड्रोको आइपीओ आउँदै, दोर्दीको बुधबार बाँडफाँड

बैंकिङ खबर/ हिमालयन हाइड्रोपावर कम्पनीले यहि असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १९ करोड ६८ लाख २५ हजार रुपैयाँको १९ लाख ६८ हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ९८ हजार ४१३ कित्ता सामुहीक लगानी कोष र ३९ हजार ३६५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी १८ लाख ३० हजार ४७२ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । आइपीओमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आइपीओमा आवेदन दिँदा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यसैबीच दोर्दी खोला जलविद्युत कम्पनीले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओ बुधबार बिहान ९ बजे बाँडफाँट हुने भएको छ । बुधबार बिहान ९ बजे सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिने क्यापिटल मर्चेन्टका हेड रिकेश श्रेष्ठले बताए ।

कम्पनीको आइपीओमा १५ लाख ५९ हजार ५८ आवेदनबाट एक अर्ब ७८ करोड ७५ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ७५ हजार ६२० कित्ता शेयरको लागि आवेदन परेको थियो। यसमा केहि आवेदन रद्द भएका छन्। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता शेयरको ८.८५ गुणा बढी हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर मात्रै वितरण हुनेछ ।

माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख १ हजार ९८६ जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् । बाँकी आवेदकको भने हात खाली हुने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]