June 14th, 2022

कर्जाको दुरुपयोग बढ्योः राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कर्जाको दुरुपयोग बढेको बताएको छ । मौद्रिक नीति जारी गर्नुअघि नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारीसँग छलफल गर्दै कर्जा दुरुपयोग बढेको जनाएको हो । मंगलबार वाणिज्य बैंकका सिईओहरुसँग बुधबार आकस्मिक छलफल गर्दै डेपुटी गभर्नरहरु डा. निलम ढुङ्गाना र बमबहादुर मिश्र, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले ऋण दुरुपयोग बढेको बताउनुभयो ।

कार्यक्रमको सुरुआतमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले मन्तव्य राख्दै पछिल्लो समय बैंकहरुले नीति निर्देशनको राम्रो पालना नगरेको बताउनुभयो । छलफलका क्रममा ढकालले चालु पुँजी कर्जा प्रवाह गर्दा आवश्यक नहुनेलाई प्रदान गरेको कौफियत औंल्याउनुभएको थियो ।

वाणिज्य बैंक सुपरिवेक्षण विभागले आयोजना गरेको कार्यक्रममा ढकालले आवश्यकताभन्दा बढी कर्जा प्रवाह भएको बताउनुभयो । ढकालले अन्य पक्षहरुको मूल्यांकन नगरी स्थिर सम्पत्तिको आधारमा मात्र कर्जा प्रदान नगर्ने गरेको पाइएको बताउनुभयो ।

राष्ट्र बैंकले पावर पोइन्ट प्रिजेन्टेसनमार्फत बैंकका दर्जन बढी बदमासीमाथि चर्चा गरेको थियो । यसलाई नियमित कार्यक्रमअन्तर्गत राखिए पनि विशेष गरी बैंकहरुको बदमासीका बारेमा छलफल गरिएको थियो।

नेपाल राष्ट्र बैंकले तोकेभन्दा फरक तरिकाले ब्याज प्रिमियम तोक्ने र परिवर्तन गर्ने गरिएको अभ्यासबारे पनि गुनासो गरिएको थियो । यसलाई गलत अभ्यास भन्दै राष्ट्र बैंकले कारवाही गरिने चेतावनीसमेत दिएको थियो ।

कतिपय कर्जाहरु, कर्जा प्रवाह गर्दाका बखतमा आधार दरभन्दा कम ब्याजदर हुने गरी समेत प्रवाह भएको राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतहरुलाई जानकारी गराएको थियो । सेवा शुल्कमा राष्ट्र बैंकको नीति बमोजिम (२० प्रतिशतभन्दा फरक हुन नहुने) नगरेको पाइएको पनि जानकारी गराइएको थियो।

तीन/तीन महिनामा कर्जा प्रवाह गरी नवीकरणको नाममा चार पटकसम्मक सेवा शुल्क लिने गरेको पनि राष्ट्र बैंकले फेला पारेको कार्यक्रममा जानकारी गराएको थियो ।

ढकालले कार्यक्रममा कर्जाको वर्गीकरण गलत प्रकारले गर्ने गरेको पाइएको समेत बताउनुभयो । ढकालले बैंकप्रति ग्राहकको गुनासो बढिरहेको बताउँदै बैंकहरुमा नियामकीय अनुपालन कमजोर देखिँदै गएको उल्लेख गर्नुभएको थियो ।

उहाँले कर्जा प्रवाह उल्लेख्य वृद्धि हुँदा पनि समग्र आर्थिक वृद्धिमा त्यसको असर कम देखिएको बताउँदै बैकहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाइरहेको तर्फसमेत सचेत गराउनुभएको थियो ।

बजारमा आवश्यकताका आधारमा कर्जा प्रवाह गर्दै अनियन्त्रित कर्जा विस्तारलाई नियन्त्रण गर्नु पर्ने पनि चुनौती रहेको भन्दै ढकालले कर्जालाई अधिकतम रुपमा उत्पादनशील क्षेत्रमा प्रवाह गरी मुलुकको समग्र विकासमा योगदान दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा गभर्नर उपस्थित हुनुभएन । डेपुटी गभर्नरहरुले सुपरिवेक्षणमा देखिएका कमजोरीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिनुभएको थियो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]