Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको सिडि रेसियो ९० प्रतिशतभन्दा तल, बढ्दै निक्षेप संकलन

२०७९ जेष्ठ २४ गते

बैंकिङ खबर/ बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) औषतमा ९० प्रतिशतभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ लागेदेखि बैंकहरुमा निक्षेप संकलन केहि बढ्न थालेसँगै बैंकहरुको सिडि रेसियो घट्न थालेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत शुक्रबारबाट बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशतबाट तल ओर्लिएको हो । शुक्रबार नै बैंकहरुको यस्तो आनुपात औषतमा ८९.९६ प्रतिशतमा झरेको थियो ।

आइतबारसम्ममा बैंकहरुको औसतमा सिडि रेसियो ८९.९९ प्रतिशत छ । तर पनि अहिले एक दर्जन बढी बैंकहरुको सिडि रेसियो ९० प्रतिशतभन्दा माथि नै छ ।

पुस अन्तिमसम्ममा बैंकहरुको सिडि रेसियो ९० प्रतिशतभन्दा तल थियो । माघ लागेसँगै उक्त रेसियो बढेर ९० प्रतिशतभन्दा माथि पुगेको थियो । बैंकहरुको सिडि रेसियो झण्डै ५ महिनापछि ९० प्रतिशतभन्दा तल झरेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै सिसिडि रेसियो खारेज गर्दै सिडि रेसियो लागु गरेको थियो । बैंकहरुलाई आगामि असार मसान्तसम्ममा सिडि रेसियो ९० प्रतिशतभन्दा तल ल्याउनुपर्ने अवस्था छ ।

आर्थिक वर्षको अन्तिमसम्ममा पनि सिडि रेसियो ९० प्रतिशतभन्दा माथि नै राखेपछि पछिल्लो केहि समययता केन्द्रीय बैंकले बैंकहरुलाई दबाब दिन थालेको छ ।

जेठ यता बैंकहरुमा निक्षेप संकलन १७ अर्ब रुपैयाँले बढेको छ । सोमबारसम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ ।