२०७३ आश्विन ५ गते

बुधबार पनि ओरालै गतिमा सेयर बजार : १७७९.१३ अंकमा परिसूचक

stockबुधबार पनि सेयर बजारमा ओरालो गतिले नै निरन्तरता पाएको छ । यद्यपि, मंगलबारभन्दा कम अंकले घटेको छ । मंगलबार झन्डै १८ अंकले ओरालो लागेको बजार बुधबार ७.३७ अंकले घटेर १७७९.१३ अंकमा कायम भएको छ । परिसूचकसँगै कारोबार पनि घटेको छ । मंगलबार एक अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार एक अर्बभन्दा पनि कम पुँजी परिचालन भएको छ । दिनभरिमा एक सय ४२ वटा कम्पनीको २२ लाख १९ हजार चार सय दुई कित्ता सेयर चार हजार नौ सय ९६ पटक खरिदविक्रि हुँदा कुल ९४ करोड ९६ लाख १२ हजार दुई सय ६८ रुपैयाँ बराबरको कारोबार भएको हो । 

कुल कारोबार रकममध्ये, सबैभन्दा धेरै सनराइज बैंकको पाँच करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको कम्पनीको पनि पाँच करोडभन्दा माथि र कम्पनीको प्रोमोटर सेयरको दुई करोडभन्दा माथिको कारोबार भएको छ । एनबी बैंक, सिद्धार्थ बैंक र सिद्धार्थ बैंकको चार करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा सानिमा बैंकको तीन करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंक, एनएमबी बैंक, कृषि विकास बैंकलगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

बुधबार ५५ वटा कम्पनीका लगानीकर्ताले अधिकतम ७.०८ प्रतिशतदेखि न्युनतम ०.०५ प्रतिशतसम्मका दरले सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै कमाउनेमा रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ता छन् भने सबैभन्दा थोरै कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता छन् । आईएलएफसीओ माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, ङादी ग्रुप, ललितपूर फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, पोखरा फाइनान्स, नेपाल ग्रामीण विकास बैंक लगायतले पनि केही कमाएका छन् । 

नविल ब्यालेन्स फण्ड १ का लगानीकर्ताले बुधबार सबैभन्दा धेरै ९.९२ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन जेनेरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा थोरै ०.५ प्रतिशतका दरले गुमाएका छन् । सेती फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकका प्रोमोटर सेयरधनीले सात प्रतिशतभन्दा बढीले गुमाएका छन् । फस्र्ट माईक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी, ग्लोबल आईएमई बैंक प्रोमोटर, गुडविल फाइनान्स लगायतले पनि गुमाएका छन् । 

बुधबार विकास बैंक र अन्य समूह सामान्य अंकले बढेका छन् भने बाँकी सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह ४९.८७ अंकले घट्दा बीमा ३४.३३ अंकले घटेको छ भने जलविद्युत् २०.१७ अंकले घटेको छ । त्यस्तै, होटल ११.६३ अंकले घट्दा बैंकिङ ८.३९ र फाइनान्स १.२ अंकले घटेका छन् । विकास बैंक र अन्य भने क्रमशः ०.६३ र ०.२९ अंकले बढेका छन् ।