Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चल धितो सम्पत्तिको अवधारणालाई प्रोत्साहन गर्न सुझाव

२०७९ जेष्ठ १८ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) को संयुक्त आयोजनमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा काठमाडौंमा कार्यक्रम सम्पन्न भएको छ।

नेपालमा निजी क्षेत्र– विशेषगरी घरेलु, लघु, साना तथा मझौला उद्यमहरुलाई नेपाली अर्थतन्त्रको आधारस्तम्भ मानिन्छ। वित्तीय साधनको पहुँचमा कठिनाइ हुनुले उनीहरुको विकास एवं विस्तारमा बाधा पुगिरहेको आमगुनासो आइरहेको सन्दर्भमा कर्जा विविधीकरणलाई प्रोत्साहन गर्न एवं वित्तीय पहुँच अभिवृद्धिका लागि सिबिफिन र आईएफसी, (विश्व बैंकको सदस्य संस्था) ले उक्त कार्यक्रमको आयोजना  गरेका हो।

नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरुको क्रेडिट ग्याप करिब ३.६ अर्ब रुपैयाँ रहेको विश्व बैंकको तथ्यांकले देखाएको छ। विकास निर्माणको करिब ९८ प्रतिशत हिस्सा ओगटेको र करिब ५७ प्रतिशत श्रमशक्तिलाई रोजगारी प्रदान गरिरहेको यस क्षेत्रको अति महत्वपूर्ण योगदान रहदा रहँदै पनि घरजग्गा धितोको अभावका कारण कर्जा र वित्तीय पहुँचमा समस्या झेल्दै आइरहेका छन्।

मूलतः यिनै विषयलाई मध्यनजर गर्दै सुरक्षित कारोबार ऐनमा भएका व्यवस्थाहरुको सुधार गर्दै बैंक तथा वित्तीय संस्थालाई कर्जा विविधिकरण गर्न प्रोत्साहन गर्नु र घरेलु, लघु, साना तथा मझौला उद्यमहरु को वित्तीय पहुँचमा सहयोग पुर्याउनु उक्त कार्यक्रमको उद्देश्य रहेको थियो।

अहिलेको उन्नत बजारमा चल सम्पत्तिलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्तिका लागि धितोको प्राथमिक आधारका रुपमा प्रयोग गर्ने गरिएको आईएफसी/विश्व बैंकका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकर एस. फायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाल प्रचलित चल धितो सम्पत्तिले वित्तीय एवं आर्थिक विकास र कर्जाको जोखिम एवं कर्जा लागत न्यूनीकरण गर्नुका साथै लघु, घरेलु, साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच बढाउन मद्दत पुर्याउँछ।’

सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले भन्नुभयो, ‘चल धितो सम्पत्तिको अवधारणाले लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी, कृषि व्यवसायी कारोबारी एवं पूर्वाधार विकास कम्पनीहरुको वित्तीय पहुँचसहित विकास एवं विस्तारमा महत्वपूर्ण सहयोग गर्नेछ।’

गोल्यानले लघु, घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई) र संस्थागत क्षेत्रको वित्तीय पहुँच बढाउन एवं वित्तीय समावेशीकरण र आयात प्रतिस्थापनको बृहत उद्देश्य प्राप्त गर्न देशका सम्पूर्ण सरोकारवाला निकायले एकजुट भएर चल धितो सम्पतिको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) का विषयविज्ञहरुले सुरक्षित कारोबार र वित्तीय पहुँच विस्तारका व्यावसायिक उदाहरणहरु प्रस्तुत गर्दै नेपालमा धितो दर्ताको भूमिका र सुरक्षित कारोबार तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी र सुदृढ बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सहभागिता जनाएका प्रतिनिधिले नेपालमा सुरक्षित कारोबार, चल धितो सम्पत्ति र वित्तीय पहुँच अभिवृद्धिका विषयमा थप जानकारी दिएको र कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

यस कार्यक्रममा आइएफसीका उच्च अधिकारी तथा विज्ञ, सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष तथा संचालक, बैंक तथा वित्तीय संस्थाका सम्बन्धित उच्च अधिकारीहरु, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधी र कानुनी विज्ञहरुको सहभागिता थियो।