Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वैदेशिक रोजगार बचतपत्र खुल्यो, यस्ता छन् फाइदाहरु

२०७९ जेष्ठ १८ गते

 

 

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । पाँच वर्षे अवधिको यस बचतपत्रमा लगानी गर्नेले १२.५ प्रतिशत ब्याज पाउँछन् । यो ब्याज रकम हाल बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा बढीमा ११. ०३ प्रतिशत मात्रै ब्याज दिन्छन् ।

बचतपत्रमा लगानी गर्नेले आफै वा इच्छाएको व्यक्तिमार्फत नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन् । ६–६ महिनामा लगानीकर्ताले ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ । घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने रकम यसमा लगानी गर्न सकिन्छ । असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । २०८४ असार १३ गते साँवा रकम फिर्ता हुनेछ ।

देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा यस्तो बचतपत्र किन्न सक्छन् ।

यस्तो बचतपत्र धितो राखी बैंकबाट ऋण पनि लिन सकिन्छ । राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ । साथै त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ ।

वैदेशिक रोजगार बचतपत्र के हो ? केके छन् फाइदाहरु ?

नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये एक हो वैदेशिक रोजगार बचतपत्र । वैदेशिक रोजगारीमा रहेका युवाहरुबाट यस बचतपत्रअन्तर्गत आन्तरिक ऋण उठाइन्छ । मुलुक बाहिर रोजगारीमा रहेको वा नेपाल फर्केको ६ महिना नपुगेको व्यक्तिले यो बचतपत्र किन्न पाउँछन् । विदेशमा हुनेले बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न पाउँछन् ।

फाइदाहरु

यस्तो बचतपत्रमा निश्चित वर्षका लागि लगानी गरिन्छ । उक्त अवधि सकिएपछि सावाँसहित फिर्ता पाइन्छ । व्याज वाणिज्य बैंकहरुमा प्रचलितभन्दा बढी पाइन्छ । अहिले जारी गरिएको वैदेशिक रोजगार बचतपत्रमा १२.५ प्रतिशत व्याज दिइएको छ ।

व्याजका लागि भने पूरै समय कुर्नुपर्दैन । बचतपत्रको अवधि नसकिँदासम्म ६/६ महिनामा व्याज भुक्तानी पाइन्छ । आवश्यक परे बचतपत्रलाई धितो बन्धक राखेर कुनै पनि वित्तीय संस्थावाट रकम झिक्न पनि सकिन्छ भने विक्री गर्न पनि सकिन्छ ।

यस्तो बचतपत्रमा लगानी गर्नु भनेको देशको विकासमा योगदान पुर्याउनु हो । किनकि, यसरी उठाएको रकम राष्ट्र बैंकमार्फत सरकारले विकास निर्माणका काममा प्रयोग गर्छ ।

Ad