मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । साताको आइतबार १० अंकभन्दा बढीले घटेको बजार मंगलबार १७.९८ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १७८६.५० अंकमा छ । कारोबार रकम पनि घटेको छ । आइतबार झन्डै साढे दुई अर्ब रुपैयाँको कारोबार भएको बजारमा मंगलबार एक अर्ब ३५ करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।
मंगलबार होटल र बीमाबाहेक कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह २८.२६ अंकले घटेको छ भने बैंकिङ २३.६ अंकले घटेको छ । त्यस्तै, विकास बैंक १९.८, फाइनान्स १०.६३ र अन्य १०.४१ अंकले घटेका छन् । बीमा र होटल भने क्रमशः ३५.३५ र १४.८८ अंकले बढेका छन् ।
कारोबार रकमका आधारमा मंगलबार नविल बैंक अग्रस्थानमा छ, जसको झन्डै पौने १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने छ करोड ७६ लाख रुपैयाँभन्दा बढीको प्रोमोटर सेयर कारोबार भएको छ । एनआईसी एसिया बैंकको १२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सिद्धार्थ बैंक, एनबी बैंक, कृषि विकास बैंक, सनराइज बैंक र एनएमबी बैंकको चार करोडमाथिको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार भएको छ ।
सेती फाइनान्स र मिरमिरे माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । किसान माइक्रोफाइनान्स र ङादी ग्रपका लगानीकर्ताले क्रमशः ९.९९ र ९.९१ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । रिलायबल माइक्रोफाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स लगायतका लगानीकर्ताले पनि कमाएका छन् ।
नेरुडे लघुवित्त र अल्पाइन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढ्रीले गुमाएका छन् । राप्तीभेरी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, एनआईडीसी क्यापिटल मार्केट्स, गुहेश्वरी मर्चेन्ट लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।



