
बैंकिङ खबर/ कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) को वित्तीय सहयोगमा नेपाल सरकार अर्थ मन्त्रालयमार्फत कृषि विकास बैंक लि.द्वारा संचालन हुन लागेको कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला (Value Chains For Inclusive Transformation of Agriculture, VITA) कार्यक्रमको शुभारम्भ गरिएको छ ।
कृषि विकास बैक लि. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको अध्यक्षता र मधेश प्रदेश योजना आयोगका माननिय उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी महोत्तरीको बर्दिवासमा एक कार्यक्रमबीच विधिवत रुपमा शुभारम्भ भएको हो ।
उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मेख बहादुर मगराती, प्रदेश अर्थ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुर, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव, नम्रता सिंह, IFAD का परामर्शदाता तथा कन्सल्टेन्ट श्याम बहादुर खड्का, विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख, समृद्धि आयोजना जनकपुरका करिडोर संयोजक, सफल किसान तथा कृषि समुहका प्रतिनिधिहरुको सहभागिता थियो भने कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव तथा बैंकका संचालक राजेन्द्र मिश्र विद्युतिय माध्यम Zoom मार्फत जोडिनुभएको थियो ।
यस कार्यक्रममा कृषि विकास बैंक लि. जनकपुर प्रदेश कार्यालयका निर्देशक तिलक प्रधानले सहभागिहरुलाई स्वागत गर्दै यस कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो भने बैकका उपमहाप्रबन्धक बाबुकाजी थापाले VITA कार्यक्रमको विस्तृत रुपमा जानकारी दिँदै यस आयोजनाबाट प्राप्त हुने अपेक्षित उपलब्धिहरु, लक्षित समूह, लभान्वित संख्या, कार्यक्रमका सम्भागहरु र मूल्य श्रृंखला विकासका लागि लिक्षित कृषि बस्तुहरु तथा कार्यक्रम संचालनका प्रमुख आर्थिक स्रोतहरुको सम्बन्धमा बताउनुभयो ।
सहभागीहरुको जिज्ञासाहरु सम्बोधन गर्ने क्रममा IFAD का परामर्शदाता श्यामबहादुर खडकाले यो कार्यक्रम खासगरी कृषिलाई प्रतिस्पर्धी बनाउँदै व्यावसायिक कृषिलाई प्रर्वद्धन गर्ने उद्धेश्यले संचालन गर्न लागिएको जानकारी गराउनुभयो ।
त्यस्तै शुभकामना मन्तव्य दिने क्रममा प्रविधि, वित्तीय पहुँच तथा बजारिकरणको माध्यमद्वारा परम्परागत रुपमा रहेको निर्वाहमुखी कृषि प्रणालीलाई रुपान्तरण गरि व्यवसायिक कृषि प्रणालीमा जानु आजको आवश्यकता रहेको प्रमुख अतिथी डा.झाले बताउनुभयो ।
मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मेश बहादुर मगराती, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिह र अर्थ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले यस क्षेत्रमा कृषिको महत्वको बारेमा प्रकाश पार्दै यस VITA कार्यक्रमले पुर्याउन सक्ने योगदानका सम्बन्धमा सुझाव सहित यस कार्यक्रमको सफल कार्यान्वयनको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सहसचिव तथा कृषि विकास बैंक लि. का संचालक राजेन्द्र मिश्रले जुममार्फत किसानहरुमा सहुलियत दरमा वित्तीय पहूँच पुर्याउन यस कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताउँदै VITA कार्यक्रमले किसानको उत्पादन र उत्पादकत्व वृद्धि गरी आयातमा प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन हुने गरी मूल्य श्रृंखलाको अवधारणामा लगानी गरिने बताउदै मन्त्रालयको तर्फबाट पूर्णसाथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका बैंकका प्रमुख कार्यकारी अधिकृत ज्यूले सबै सहभागीहरुलाई धन्यवाद दिँदै यस मधेश प्रदेशका कृषिको सम्भावना प्रशस्त रहेको र यस कार्यक्रमले सहुलियतपूर्ण कर्जाको रुपमा सही तरीकाले आपूर्तीकर्ता, कृषक, प्रशोधनकर्ताहरुलाई बजार मागको आधारमा मूल्य श्रृंखलामा आवद्ध गराई लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य अतिथिहरुलाई व्याच वितरण गर्ने कार्य कृषि विकास बैंकका विभागिय प्रमुख तथा आयोजना निर्देशक बिना शर्माले र कार्यक्रमका संचालन बैंकका बरिष्ठ शाखा प्रमुख प्रेम प्रसाद खनालले गर्नु भएको थियो ।