
बैंकिङ खबर/ चालू आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको अन्तिम तयारीमा राष्ट्र बैंक जुटेको छ।
राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार छिट्टै मौद्रिक नीतिको समीक्षा गर्ने गरी तयारी गरिएको छ। मौद्रिक नीतिमार्फत लिइएका नीतिको कार्यान्वयन अवस्था र त्यसको प्रभावलाई हेरेर तीन/तीन महिनामा राष्ट्र बैंकले समीक्षा गर्ने र आवश्यकतालाई हेरर आवश्यक सुधार गर्ने काम राष्ट्र बैंकले गर्ने गरेकाे छ। केन्द्रीय बैंकले जेठको पहिलो साताभित्रै समीक्षा सार्वजनिक गर्ने आन्तरिक तयारी शुरु गरेपनि ढिलाई भएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी बीचको द्वन्द्वका कारण मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रभावित भएको बुझिएको छ । गत वर्ष जेठ ४ गते भएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरिएको थियो ।
अहिले पनि गभर्नर अधिकारी र अर्थमन्त्री शर्माबीच ‘हटाउने र पुनरबहाली’ को बिषयलाई लिएर बोलचाल नै बन्द छ । यस्तो समयमा मौद्रिक नीतिको समीक्षा गर्न गभर्नर अधिकारीलाई अप्ठयारो भइरहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।
राष्ट्र बैंकको स्रोतले भन्यो, ‘मौद्रक नीतिको समीक्षा जस्तो कुरा अर्थमन्त्रीलाई नसोधी गर्न पनि भएन् । गभर्नरलाई अर्थमन्त्रीसँग सोध्न सक्ने अवस्था पनि छैन्, किनकी उहाँहरु (गभर्नर र अर्थमन्त्री) बीच बोलचाल नै छैन् ।’
सरकारले हटाउने र अदालतले राख्ने गर्दा गभर्नर अधिकारीले त्यो बीचमा काम गर्न पाएनन् । त्यही ‘ग्याप’ का कारण पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा असर परेको हो । करिव दुई साता जति गभर्नरले काम गर्न पाएनन् त्यसैले पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिकको समीक्षामा केही ‘हेम्पर’ भएको छ । तर, राष्ट्र बैंकका सह प्रवत्ता पोखरेले भने मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा समयमा नै गर्ने कोशिस भइरहेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘गभर्नरले केही समय काम गर्न पाउनु भएन् । यस्तो हुँदा हुँदै पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारी गरेका छौं ।’
जेठ १५ गते सरकारले आगामी वर्षको बजेट संसदमा प्रस्तुत गर्दैछ । उक्त बजेट आउने भन्दा पहिले नै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।
नीतिगत परिवर्तन होला त ?
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा अहिलेको अर्थतन्त्रको अवस्था, तरलता र कर्जा प्रवाहको स्थितीलगायतका विषयमा केन्द्रित रहेर आवश्यकता अनुसारको सामान्य नीतिगत परिवर्तन गरिने राष्ट्र बैंकले जनाएको छ ।
मौद्रिक नीतिको समीक्षा राष्ट्र बैंक अनुसान्धन विभागले अन्य विभिन्न विभागबाट आएका प्रस्ताव र अन्य सम्बन्धित सरोकारवालाहरुसँग समेत सुझाव लिएर खाका तयार गरी सञ्चालक समितमा पेश गर्छ । जसमा सञ्चालक समितिले आवश्यक थपघट गरी समीक्षा सर्वजनिक गर्न अनुसन्धान विभागलाई निर्देशन दिन्छ ।




