May 25th, 2022

एफपीओ निष्काशनको तयारीमा ६ लघुवित्त

बैंकिङ खबर/ ६ लघुवित्त कम्पनीहरु एफपीओ निष्काशनको तयारीमा रहेका छन् । किसान लघुवित्त, नयाँ सारथी लघुवित्त, मिर्मिरे लघुवित्त, युनिक नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका हुन् ।

बोर्डका अनुसार किसान लघुवित्तले गत वर्ष असार २९ गते १२५ रुपैयाँका दरको १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडेलाई नियुक्त गरिसकेको छ ।
यस्तै नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्ष भदौ ९ गते अंकित मूल्य ११६ रुपैयाँको दरले ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ जारी गर्न बोर्डसमक्ष निवेदन पेश गरेको हो । कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ हजार ३१६ कित्ता एफपीओ जारी गर्न बोर्डमा गत कात्तिक २३ गते निवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १७७ रुपैयाँ ८० पैसाको दरमा सो कित्ता निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

युनिक नेपाल लघुवित्तले गत चैत १७ गते बोर्डमा एफपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गर्न निवेदन दिएको हो । लघुवित्तले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले अंकित मूल्य १५९ रुपैयाँका दरको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गर्न गत चैत २५ गते धितोपत्र बोर्डसमक्ष अनुमति पेश गरेको हो । एफपीओ जारी गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्न अनुमति माग्दै गत चैत २९ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले अंकित मूल्य १५९ रुपैयाँ ७ पैसाका दरले २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

नेपाल धितोपत्र बोर्डले यी ६ लघुवित्तको एफपीओ निष्काशन अनुमतिलाई हालसम्म स्वीकृति दिएको छैन । सम्पूर्ण विवरण हेरेर बोर्डले एफपीओ निष्काशन गर्न अनुमति प्रदान गर्नेछ । बोर्डबाट अनुमति पाएपश्चात् यी लघुवित्तहरुको एफपीओ निष्काशन मिति तय हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]