Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वैदेशिक लगानीका लागि ग्रेड चाहिन्छ, हामी ग्रेडमा पर्दैनौंः गभर्नर अधिकारी

२०७९ जेष्ठ ९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वैदेशिक लगानीका लागि ग्रेड चाहिने भन्दै हामी ग्रेडमा नपर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भन्नुभयो, ‘हाम्रो रेटिङ छैन । त्यसो भएका कारण हामीले राम्रो लगानी पाउँदैनौं । जङ आउँछ र सानोतिनो लगानी आउँछ ।’

वैदेशिक लगानी आकर्षित गर्ने ‘वर्ग’ भित्र नेपाल नरहेकाले सफा पैसा आउनेमा पनि उहाँले शंका ब्यक्त गर्नुभयो । देशको रेटिङ नभएको अवस्थामा राम्रो लगानीकर्तालाई आस्वस्थ मार्न नसकिने भन्दै अहिलेको अवस्थामा आउने लगानी ‘जङ्क’ भएको पनि उहाँको भनाइ छ ।

अधिकारीले नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि लगानी बोर्डजस्ता विशेष संस्था आवश्यक भएको भन्दै नीति नियम र मानसिकतामा पनि परिवर्तन भएमात्र विदेशीलाई भित्र्याउन सकिने बताउनुभयो ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुँदाको अनुभव सम्झदै उहाँले भन्नुभयो, ‘वैदेशिक लगानीकर्ताले नीतिमा स्थिरता खोज्छ । कानुनमा स्थिरता दिनु आवश्यक छ ।’

लगानी गर्दा एउटा नीति हुने र पछि परिवर्तन हुने हुँदा त्यो जोखिम वैदेशिक लगानीकर्ताले लिन नखोज्ने उहाँले बताउनुभयो । ‘ऊ विभिन्न संस्थामा आएर देउसीभैलो खेल्न चाहन्न। एउटा कामका लागि एउटा संस्था अर्कोका लागि अर्को। जग्गा मिलाउन एकातिर, वनका लागि अर्कोतिर जान खोज्दैन,’ गभर्नर अधिकारीले भन्नुभयो, ‘उसले एकै ठाउँमा सेवा चाहन्छ ।’ उहाँले निजी क्षेत्र र सरकारको मानसिकतामा पनि परिवर्तन रहेको आवश्यकता रहेको पनि बताउनुभयो । खासगरी उनले निजी क्षेत्रले वैदेशिक लगानीबाट ‘थ्रेड’ ठान्दा समस्या भएको उहाँको भनाइ छ ।