May 21st, 2022

राष्ट्र बैंककाे प्रतिवेदनः वित्तीय प्रणालीको आकार झण्डै ८२ खर्ब(पूर्णपाठ)

बैंकिङ खबर/ नेपालको समग्र वित्तीय प्रणालीको आकार झण्डै ८२ खर्ब रुपैयाँ पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘वित्तीय स्थायित्व सम्बन्धि प्रतिवेदन २०७७/२०७८’ अनुसार नेपालको वित्तीय प्रणालीको आकार ८१ खर्ब ७४ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

नेपालको अर्थतन्त्रको फैलावटसँगै वित्तीय प्रणालीभित्रका संस्थाहरु पनि बढ्दै गएका छन् । २०७४ मा नेपालमा २८ वाणिज्य बैंक, ४० विकास बैंक, २८ फाइनान्स कम्पनी र ५३ लघुवित्त वित्तीय संस्था रहेकोमा ५ वर्षको दौरान विकास बैंक १८, फाइनान्स १७ वटामा सिमित भएको छ भने लघुवित्त कम्पनी भने २०७६ मा ९० वटासम्म पुगेकोमा अहिले घटेर ७० सम्म पुगेको छ ।

पछिल्लो ५ वर्षमा १ वटा पूर्वाधार विकास बैंक, १ पुनर्विमा कम्पनी, ८७ वटा क्वालिफाइड इन्स्टिच्युसनल इन्भेष्टर, १ स्टक डिलर र एउटा सामाजिक सुरक्षा कोष थपिएसँगै वित्तीय प्रणालीमा ३ सय ३३ वटा संस्थाहरु रहेका छन् । वित्तीय प्रणाली भित्र ३ सय ३३ संस्था भनेर गणना गर्दा आस्वामा आबद्ध र डीपीको रुपमा आबद्ध वित्तीय संस्थाहरु दोहोरिएको राष्ट्र बैंकले आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेका छन् । राष्ट्र बैंकको अध्ययन अनुसार वित्तीय प्रणालीको आकार ८१ खर्ब ७४ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । वित्तीय प्रणालीका विभिन्न संस्थाहरुमध्ये सबैभन्दा ठूलो योगदान भने वाणिज्य बैंकको रहेको छ ।

समग्र वित्तीय प्रणालीको सम्पत्तिमध्ये वाणिज्य बैंकको सम्पत्ति ६६.३१ प्रतिशत रहेको छ । सम्पूर्ण वाणिज्य बैंकको कुल सम्पत्ति २०७७/७८ को अन्तिमसम्म पुग्दा ५४ खर्ब २० अर्ब रुपियाँ पुगेको छ ।

आव २०७७/७८ मा समग्र वित्तीय प्रणालीको आकारमा विकास बैंकको योगदान ६.३८ प्रतिशत, लघुवित्तको योगदान ५.४५ प्रतिशत रहेको छ । वित्तीय प्रणालीमा केन्द्रीय बैंकले सञ्चालन अनुमति दिएका बैंक तथा वित्तीय संस्थाहरुको मात्रै योगदान ७९.९९ प्रतिशत रहेको छ । २०७७/७८ सम्ममा सहकारी संस्थाको सम्पत्ति ३ खर्ब ८३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । समग्र वित्तीय प्रणालीमा यसको योगदान ४.६९ प्रतिशत रहेको छ ।

वित्तीय प्रणालीमा ठूलो योगदान गर्ने अर्को क्षेत्र भनेको बिमा क्षेत्र हो । वित्तीय प्रणालीमा विमा क्षेत्रको कुल सम्पत्ति ५ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ पुगेको हो । समग्र वित्तीय प्र्रणालीमा विमा कम्पनीहरुको योगदान ६.६४ प्रतिशत रहेको छ ।
समग्र वित्तीय प्रणालीको सम्पत्तिमा कर्मचारी सञ्चय कोषको योगदान ५.४४ प्रतिशत, नागरिक लगानी कोषको योगदान २.४२ प्रतिशत रहेको छ ।

वित्तीय प्रणालीको कुल सम्पत्तिमा वाणिज्य बैंक, लघुवित्त र बिमा कम्पनीको अंश पछिल्लो ५ वर्षमा बढ्दै गएको छ भने विकास बैंक, फाइनान्स, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको सम्पत्तिको अंश भने विस्तारै घट्दै गएको छ । वित्तीय प्रणालीको कुल सम्पत्तिमा कुल गार्हस्थ उत्पादन १४२.२५ प्रतिशत पुगेको छ, सहकारी र कुल गार्हस्थ उत्पादनको प्रतिशत १२७.०५ प्रतिशत रहेको छ ।

हेर्नुहोस् पूर्णपाठ

FSR-2020-21-final

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]