
बैंकिङ खबर/ विद्युत नियमन आयोगले २ जलविद्युत कम्पनीलाई मर्जरमा जान सहमति दिएको छ । आयोगले रिडि हाईड्रोपावर डेभलपमेण्ट र रैराङ हाईड्रोपावर डेभलपमेण्ट कम्पनीलाई आपसमा गाभिनका लागि सहमति दिएको हो ।
आयोगका अनुसार पुस २६ मा दुवै कम्पनीले निवेदन पेश गरेका थिए । त्यसको आधारमा आयोगले छलफल गरेर दुवै कम्पनीलाई गाभिन सहमति दिएको हो । दुवै कम्पनी गाभिएपछि चुक्ता पुँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार रुपैयाँ हुने छ ।
आयोगले दुवै कम्पनीलाई ४ वटा शर्त सहित सहमति दिएको छ । जसमा आयोगले ऐन, नियमावली, विनियमावली र निर्देशिका वमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समय समयमा आदेश परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्नेछ ।
प्रचलित कानुन बमोजिम लाभकर लगायत अन्य कर बुझाउनुपर्ने भएमा सम्बन्धित निकायमा सो कर बुझाउनुपर्ने छ । कम्पनीले आयोगबाट समय समयमा जारी गरेको मापदण्ड, संहिता तथा संस्थागत सुशासन सम्बन्धि निर्देशन पालना गर्नुपर्ने छ ।