Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

घरजग्गामा बैंकहरुको लगानी: कुल कर्जाको झण्डै ६७ प्रतिशत

२०७९ बैशाख २८ गते

बैंकिङ खबर/ चालू आर्थिक वर्षको ९ महिना(साउनदेखि चैत मसान्तसम्म) बैंक वित्तीय संस्थाहरुले कुल कर्जाको झन्डै ६७ प्रतिशत कर्जा घर जग्गा धितो राखेर प्रवाह गरेका छन्। ९ महिनाको अवधिमा घरजग्गा धितो राखेर झन्डै ६७ प्रतिशत कर्जा प्रवाह भएको छ भने १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुकोलगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाकोअनुपात क्रमशः ६५.९ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फकोकर्जा ७.८ प्रतिशतले बढेको छ

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रततर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २७.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २२.२ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १७.३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घरकर्जा समेत) ११.९ प्रतिशतले र हायर पर्चेज कर्जा ४.६ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ४९.९ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले घटेको छ ।