
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताउनुभएको छ । प्रज्ञा भवन कमलादीमा बुधबार लेखापढी व्यवसायीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विगत दुई वर्ष अन्य आर्थिक सूचकांक राम्रो भएपनि आर्थिक वृद्धि भने अपेक्षा अनुसार हुन नसकेको बताउनुभयो ।
कोभिड पश्चात चलायमान भएको अर्थतन्त्रले आर्थिक वृद्धि बढाउने अनुमान भएपनि लक्ष्य अनुसार हुन नसकेको उहाँले बताउनुभयो । उहाँले पछिल्ला दिन बाह्य अवस्थामा दवाव रहेपनि आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुगेको बताउनुभयो । पछिल्लो १० वर्षको औसतलाई मूल्यांकन गर्दा आर्थिक वृद्धिको दर सन्तोषजनक नै रहेको उहाँको भनाइ छ ।
आर्थिक वृद्धिलाई सबल बनाउन थप प्रयास आवश्यक रहेको पनि उहाँल बताउनुभयो । सरकारले चालु बर्ष आर्थिक वृद्धि लक्ष्य सात प्रतिशत राखेको छ । इन्धन मूल्यमा देखिएको अत्यधिक मूल्य वृद्धिले विश्व बजारमा मुद्रास्फीति बढेको भन्दै त्यसको असर नेपालमा पनि परेको गभर्नरले अधिकारीले बताउनुभयो ।
अमेरिकामा ४० वर्षपछि ८ प्रतिशतको मुद्रास्फीतिमा रहेको उदाहरण दिँदै गभर्नर अधिकारीले प्रणालीमा अत्यधिक ’मनि सप्लाई’ भएको कारण मात्र नभई इन्धन मूल्यको वृद्धिले अधिकांश विश्व बजारमा मुद्रास्फीति बढेको बताउनुभयो । बाह्य क्षेत्र नै अहिलेको लागि सबै भन्दा चुनौतीको विषय रहेको उहाँको भनाइ छ ।
आयातको वृद्धिलाई निर्यातको आकारले धन्न नसक्ने समेत उहाँले उल्लेख गर्नुभयो । निर्यातले आयातलाई धान्न नसक्ने हुँदा रेमिट्यान्सको योगदान आयातमा परेको पनि उहाँको भनाइ छ ।
आयात र निर्यातको विशाल अन्तरलाई कसरी कम गर्ने भन्नेमा प्रश्न राख्दै उहाँले भन्नुभयो, ‘मुलुकको सबैभन्दा ठूलो चुनौती यही हो । आज भोलिको मात्र नभएर भविष्यका लागि समेत सरोकारवालाहरुसँग उक्त प्रश्नको जवाफ छैन ।’ वैदेशिक रोजगारीमा गएका नेपालीको विप्रेषणले आयातलाई सँधै धान्न नसक्ने पनि उहाँले बताउनुभयो ।




