Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आयातमा लचकताः बैंकहरुले सुन ल्याउनका लागि लिन थाले स्वीकृत

२०७९ बैशाख २० गते

बैंकिङ खबर/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० वस्तुबाहेक अन्यको आयातमा लचकता अपनाएपछि बैंकहरुले सुन आयातका लागि स्वीकृत लिन थालेका थिए । अहिले दुई वाणिज्य बैंकहरुले एक सय किलो सुन ल्याउन स्वीकृति लिइ सकेका छन् । सुन ल्याउनका लागि ग्लोबल आइएमई र प्रभु बैंकले स्वीकृति पाएका हुन् । बुधबार नै दुईवटा बैंकले सुन आयातका लागि स्वीकृत पाएको नेपाल बैंकर्स संघले जनाएको छ ।

यी दुवै बैंकले दुबईबाट सुन ल्याउन लागेका हुन् । तर मुस्लिम मुलुक दुबई इदका कारण पर्वको महिना चलिरहेकाले यसले सुन आयात केहि प्रभावित भएको छ । अघिल्लो साता सरकारले आयात कडाइ गरेका सूचीमा सुन नपरेपछि दुई महिनादेखि हुन नसकेको यसको आयातका लागि बाटो खुला भएको थियो ।

यसअघि रुस र युक्रेन युद्ध सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर एक लाखमाथि गएको थियो । मूल्य आकाशिएसँगै नेपाली बजारमा सुनको माग खुम्चिँदै जाँदा सुनचाँदी व्यवसायीहरुले बैंकबाट सुन किन्न नै छोडेका थिए ।

व्यवसायीले सुन किन्न छोडेपछि वाणिज्य बैंकहरुसँग १६७ किलो सुन झण्डै एक महिना मौज्दातमा बसेको थियो । यसरी भएको सुन व्यवसायीले किन्न चासो नदेखाएपछि बैंकहरुले पनि सुन आयातका लागि स्वीकृति नै लिन बन्द गरेका थिए ।

सरकारले विलासीदेखि विभिन्न अनिवार्य वस्तु समेतको आयातमा रोक लगाउने हल्ला चल्न थालेसँगै व्यवसायीहरुले वैशाखबाट सुरु हुने बिहेको सिजनलाई ध्यानमा राख्दै बैंकसँग भएको सुन उठाउन थालेका थिए । सोपछि १६७ किलो सुन एक सातामै स्टक आउट भएको थियो । त्यसयता अहिले पनि बैंकहरुसँग सुनको मौज्दात शुन्य रहेको छ ।

सुनचाँदी व्यवसायीहरुले भने बिहेको सिजन सुरु भएकाले सुन खरिदका लागि माग गर्ने क्रम बढाएका छन् । यसैका आधारमा दुई बैंकले सरकारले आयात खुकुलो बनाएसँगै सय किलो सुन आयात गर्न खोजेको हो । उक्त सुन यो साताभित्रै नेपाल आउने संघले जनाएको छ ।

 

Ad