साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा झन्डै साढे दुई अर्ब रुपैयाँ पुँजी परिचालन भएको छ । दिनभरिमा एक सय ४२ वटा कम्पनीको २४ लाख ९१ हजार तीन सय ३६ कित्ता सेयर छ हजार सात सय २२ पटक खरिदविक्रि हुँदा कुल दुई अर्ब ४६ करोड सात लाख ९४ हजार दुई सय ८२ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम बढेपनि नेप्से परिसूचक पनि १०.६९ अंकले घटेर १८०४.४८ अंकमा कायम भएको छ ।
आइतबारको बजार बीमा र बैंकिङ समूहले घटाएका छन् । बीमा र बैंकिङ क्रमशः ८७.४७ र १८.५४ अंकले घटेका छन् । फाइनान्स पनि ०.७२ अंकले ओरालो लागेको छ । होटल, विकास बैंक, जलविद्युत् र अन्य समूह क्रमशः २१.८, ३.५६, १३.८४ र ९.५४ अंकले बढ्दा उत्पादनमूलक समूह स्थिर रहेको छ ।
आइतबार नागरिक लगानी कोषमा लगानीकर्ता ओइरिएका छन् । कोषको सबैभन्दा धेरै एक अर्ब २० करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । त्यस्तै, सनराइज बैंकको १५ करोड रुपैयाँभन्दा माथिको कारोबार हुँदा मुक्तिनाथ विकास बैंकको छ करोड ४५ लाख, नविल बैंकको पाँच करोड ९२ लाख, श्रीराम सुगर मिल्सको चार करोड ५५ लाख, एनआईसी एसिया बैंकको चार करोड ४० लाख, एनबी बैंकको चार करोड ३६ लाख, एनएमबी बैंकको तीन करोड ८८ लाख, सिद्धार्थ बैंकको तीन करोड दुई लाख र प्रभु इन्स्योरेन्सको दुई करोड ७८ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।
किसान माइक्रोफाइनान्सका लगानीकर्ताले आइतबार सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सिन्धु र मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले क्रमशः ९.९१ र ९.१७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । पूर्णिमा विकास बैंक, रिलायबल माइक्रोफाइनान्स, गुडविल फाइनान्स, निर्धन उत्थान बैंक लगायतका लगानीकर्ताले पनि धेरै कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको नेरुडे लघुवित्तका लगानीकर्ताले साढे छ प्रतिशतका दरले गुमाएका छन् । लक्ष्मी लघुवित्त, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, सप्तकोशी डेभलपमेन्ट बैंक, साना किसान विकास बैंक, राष्ट्रिय बीमा कम्पनी लगायतले पनि गुमाएका छन् ।