Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंक र सशस्त्र प्रहरीबीच सम्झौता

२०७९ बैशाख १४ गते

बैंकिङ खबर/ सशस्त्र प्रहरी बल (एपीएफ) र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ । एपीएफको प्रधान कार्यालय हल्चोकमा बुधबार भएको सम्झौतामा सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्य र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितिमा सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकको हालको अवस्था, बैंकले प्रदान गर्दै आएको सेवाबारे जानकारी गराउँदै ७ प्रदेश ७७ जिल्लामा नै शाखा रहेको बैंकले सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।

यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले संगठनले विभिन्न कल्याणकारी योजनाहरु मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आईरहेको उल्लेख गर्दै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसँग भएको यस सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा सुविधा समेत न्यून शुल्कमा प्राप्त हुने बताउनुभयो ।

सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम १५ लाख रुपैयाँ सम्मको ऋण सुविधा पाउनेछन् । साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरुसमेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।

Ad