नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकमा लगानी गरेर गत १९ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ । राष्ट्र बैंकले नेपालमा विभिन्न क्षेत्र (पर्यटन, व्यापार, विदेशी लगानी, रेमिटेन्स) बाट भित्रिएर सञ्चित हुन आएको रकम विभिन्न देशको सरकारी बन्ड, आवधिक निक्षेप, ट्रेजरी बिल्स र सुनमा लगानी गरी व्याजवापत उक्त आम्दानी गरेको हो । राष्ट्र बैंकले विदेशमा गरेको लगानीबाट औसतमा अडाइ प्रतिशत ब्याज पाउने गरेको छ ।
राष्ट्र बैंकले सञ्चित भएको विदेशी मुद्रा अमेरिका, चीन, भारत, क्यानडा, बेलायतलगायत देशमा गरी १० खर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ । कुल लगानीमध्ये राष्ट्र बैंकले ६० प्रतिशत नेपाललाई आवश्यक पर्दा तत्कालै फिर्ता पाउन सनिे गरी र बाँकी ४० प्रतिशत भने तीन महिनादेखि ६ महिनाभित्र फिर्ता पाउन सकिने राष्ट्र बैंकले जनाएको हो । बैंकसँग भएको विदेशी मुद्रालाई अन्य देशमा लगानी गर्न पाउने व्यवस्था छ ।
राष्ट्र बैंकका अनुसार गत वर्षसम्म भएको कुल लगानीमध्ये ५८.५ प्रतिशत अमेरिकी डलरमा र २३.३ प्रतिशत भारतीय मुद्रामा छ भने ८.८ प्रतिशत रकम चीनमा र बाँकी लगानी विभिन्न परिवत्य मुद्रामा गरिएको छ । चिनियाँ सरकारी ऋणपत्रमा गरिएको लगानीमा ३.६५ प्रतिशत तथा अस्ट्रेलियन डलरबाट २.२९ प्रतिशत ब्याज आउने गरेको छ । यस्तो ब्याज लगानी गरिएका देशबाट त्रैमासिक रूपमा नेपालले पाउने गर्दछ ।
हाल नेपाल राष्ट्र बैंकमा आठ हजार दुई सय ५२ मिलियन अमेरिकी डलर सञ्चित छ । नेपालले पहिलो पटक विदेशी मुद्रामा ५० वर्षअघि जापानमा खाता खोलेको थियो ।



