
बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ ।
यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
गभर्नर अधिकारीको पुनर्बहाली

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किनुभएको छ । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किनुभएको हो । अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए।
राष्ट्र बैंकको सञ्चालक नियुक्तिमा भागवण्डा !

नेपाल राष्ट्र बैंकमा रिक्त दुई सञ्चालकमा नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र)का बीच भागवण्डा भएको छ । संचालकमा एक/एक जना नियुक्ति गर्ने सहमति भएको हो । यसअघि राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका दुई जनामध्ये पनि एक/एक जना नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र) निकट रहेका थिए ।
५ वर्षअघि दुई जना सञ्चालकमध्ये श्रीराम पौडेललाई माओवादीले र कांग्रेस सरकारले रामजी रेग्मीलाई सञ्चालक बनाएको थियो । ती दुवै जना सञ्चालकको पदावधि वैशाख ३ गते सकिएकाले उक्त ठाउँमा नयाँ सञ्चालक नियुक्ति गर्न लागिएको हो ।
सत्ताधारी दल नेपाली काग्रेस र माओवादीबीच सहमति भए अनुसार नेपाल राष्ट्र बैंकको सञ्चालकमा दिलिप ढुंगाना र डा. शंकर आचार्यलाई नियुक्त गर्न लागिएको छ । राष्ट्र बैंकमा ३० वर्ष काम गरिसकेका आचार्य नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ । यसैगरी, ढुंगानासँग बिभिन्न बैंक तथा वित्तीय क्षेत्रमा लामो समय काम गरेको अनुभव छ ।
गोरखापत्रका पूर्वमहाप्रबन्धक बैंकिङ कसूरमा पक्राउ
गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय बैंकिङ कसूरमा पक्राउ पर्नुभएको छ । उहाँलाई काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट पक्राउ गरेको हो।
उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरका एसएसपी सुदीप गिरीले जानकारी दिनुभयो । अंगद खड्काको जाहेरीपछि उपाध्यायको खोजी गरेको प्रहरीले बिहीबार पक्राउ गरेको हो।
वाणिज्य बैंकहरुको निक्षेप १२ अर्बले घट्यो

वाणिज्य बैंकहरुको निक्षेप दुई दिनमै १२ अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वैशाख १ र २ गते वाणिज्य बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले घटेको हो। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको छ। गत चैत ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी यो २ दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले घटेको छ। वैशाख २ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ। गत चैत ३० गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो। वैशाख २ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.७७ प्रतिशत रहेको छ।
क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा तीन पक्राउ

प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार संलग्न रहेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिटक्वाइन, यूएसडीटी सोलाना, इथेरियमलगायत विभिन्न क्रिप्टोको अवैध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापाको बिर्तामोड घर भई काठमाण्डौको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भई हाल क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र बाफल बस्ने २७ वर्षीय राहुल चचान छन्। उनीहरुलाई प्रहरीले आइतबार र सोमबार काठमाण्डौका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
यी ३ जनाले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँबराबरको क्रिप्टो कारोबार गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हाल उनीहरुमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको जनाएको छ।
स्थायी तरलता सुविधा लिन खाता सञ्चालकको विवरण पठाउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा तथा खुला बजार कारोबारअन्तर्गतका सुविधा लिनका लागि खाता सञ्चालकहरुको जानकारी पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई खाता सञ्चालकहरुको जानकारी पठाउन निर्देशन दिएको हो।
मौद्रिक व्यवस्था विभागबाट स्थायी तरलता सुविधा तथा खुला बजार कारोबारअन्तर्गतका सुविधा लिने सबै बैंक तथा वित्तीय संस्थाहरु यस्तो निर्देशन दिएको हो।
ती सुविधाका लागि खाता सञ्चालकहरुको हस्ताक्षरसहितको विवरण तथा प्रमुख कार्यकारी अधिकृत र ट्रेजरी विभागका प्रमुखको सम्पर्क नम्बर (मोबाइल नम्बर) का साथै ई–मेल आईडीसहितको जानकारी यथाशीघ्र विगभामा पठाउन सूचनामा उल्लेख छ।
राष्ट्र बैंकद्वारा आरटीजीएस कारोबार समयावधिमा संशोधन

नेपाल राष्ट्र बैंकले आरटीजीएस कारोबार समयावधिमा संशोधन गरेको छ। केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना जारी गर्दै आटीजीएस कारोबार समयावधिमा गरिएको संशोधनका विषयमा जानकारी गराएको हो। आरटीजीएस सिस्टम रुल, २०१९ को अनुसूची–६ मा संशोधन गरिएको हो।
अब संशोधित समयावधिअनुसार गर्न गराउन आटीजीएस प्रणालीमा आबद्ध सम्पूर्ण सदस्य संस्थाहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकले गर्मीयाम तथा जाडोयाम र शुक्रबारका दिनका लागि आरटीजीएस कारोबार समयावधि संशोधन गर्दै तालिका सार्वजनिक गरेको छ। अब सोहीअनुसार आरटीजीएस आबद्ध सम्पूर्ण संस्थाले कारोबार गर्नुपर्नेछ।