कैलाश विकास बैंकका सेयरधनीले २५ प्रतिशत लाभांश पाउने भएका छन् । दुई विकास बैंक र एक फाइनान्स कम्पनी गाभिएर बनेको बैंकले उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकले शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गर्नेछ ।
बैंकले गत आर्थिक वर्ष मुनाफाबाट उक्त वोनस वितरण गर्न लागेको हो । गत आवमा बैंकले ४३ करोड ९४ लाख खुद नाफा आर्जन गरेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप चुक्तापुँजी वृद्धिका लागि बैंकले बोनस सेयर दिन लागेको हो । एक अर्ब ५८ करोेड चुक्ता पुँजी रहेको कैलाश विकास बैंकको बोनस वितरणपश्चात पूँजी एक अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ ।
राष्ट्र बैंकको निर्देशनअनुसार, राष्ट्रियस्तरको विकास बैंकको चुक्तापुँजी ०७४ असार मसान्तसम्ममा साढे दुई अर्ब पुग्नुपर्ने हुन्छ । वोनस सेयरबाट नपुगेको पुँजी थप गर्नका लागि बैंकले हकप्रद निष्काशनको प्रक्रिया समेत अघि बढाइसकेको छ । बैंकले २० प्रतिशत अर्थात पाँच बराबर एकको अनुपातमा हकप्रद निष्काशनको प्रक्रिया अघि बढाएको हो । बैंक हकप्रद जारी गर्न धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा रहेको छ । बैंकले ३१ करोड ६० लाख रुपैयाँ बराबरको ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।