Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सर्वोच्चको फैसलाले राष्ट्र बैंकको स्वायत्तता जोगियोः गभर्नर अधिकारी

२०७९ बैशाख ७ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतले नियामक निकायको स्वायत्तता जोगाएको बताउनुभएको छ । बुधबार पदबहाली गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फ्युलालको एकल इजलासले सरकारले गरेको निलम्बन कानून अनुसार नभएको भन्दै गभर्नर अधिकारीलाई काममा फर्कने दिने फैसला सुनाएको थियो । अदालतको अल्पकालिन आदेशपछि गभर्नर अधिकारीले बुधबार राष्ट्र बैंकमा पदबहाली गर्नुभएको हो ।

उहाँले भन्नुभयो ‘‘सरकारले व्यक्ति महाप्रसाद अधिकारीमाथि आक्रमण गरेको होइन, संस्थाविरुद्ध आक्रमण गरेपछि अदालत जान बाध्य हुनु परेको हो, अदालतले पछि पनि न्याय दिनेमा विश्वस्त छु ।’ उहाँले आफूलाई सरकारले हटाएको भएपनि सरकारलाई दिने सुझावमा कुनै व्यवसायिक ढंगले दिने र आफू बायस नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘‘राष्ट्र बैंकको गभर्नर सरकारको सल्लाहकार हो, सरकारले हटाउन खोज्यो तथा अदालतको आदेशपछि पुर्नबहाली भए भन्दैमा मैले बायस भएर काम गर्न मिल्दैन, सरकारले सल्लाहकारको रुपमा दिने सुझाव दिने छु,’ उहाँले भन्नुभयो । गभर्नर र अर्थमन्त्री भन्ने ब्यक्तिगतभन्दा पनि संस्था हो भन्दै उहाँले अहिले विकास भएको घटनाक्रमबाट काममा प्रभाव पर्न नदिन सतर्क रहेको बताउनुभयो ।

सरकारले गभर्नरमाथि छानबिन गर्न भन्दै चैत २४ गतेबाट निलम्बन गरेको थियो। त्यसबिरुद्ध बैशाख ४ गते सर्बोच्च अदालत गएका गभर्नरको पक्षमा फैसला दिँदै अदालतले छानबिन समितिलाई नै निलम्बन गरिदिएको छ।