Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नियमित काममा फर्किए गभर्नर अधिकारी

२०७९ बैशाख ७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि आफ्नो नियमित काममा फर्किनुभएको छ । सरकारले गरेको निलम्बन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै उहाँ काममा फर्किनुभएको हो ।

अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए। अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुबै पक्षलाई बोलाएको छ।

अर्थमन्त्री जनार्दन शर्मासँग मत बाझिएपछि गभर्नर अधिकारीलाई देशको अर्थतन्त्र ध्वस्त पारेको तथा कार्यक्षमता अभाव भएको आरोप लगाउँदै सरकारले छानबिन अघि बढाएको थियो ।

गत चैत २५ गते मन्त्रिपरिषद् बैठकले उहाँबारे छानबिन गर्न जाँचबुझ समिति गठन गरेर प्रक्रिया अघि बढाएको थियो । तर गभर्नर अधिकारीले आफूलाई अन्याय भएको भन्दै रिट निवेदन दिएपछि सर्वोच्च अदालतमा मंगलबार अन्तरिम आदेश जारी गरी गभर्नर अधिकारीलाई काम गर्न दिन र कारबाही नगर्न भनेको छ ।