
बैंकिङ खबर/ प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार संलग्न रहेको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिटक्वाइन, यूएसडीटी सोलाना, इथेरियमलगायत विभिन्न क्रिप्टोको अवैध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापाको बिर्तामोड घर भई काठमाण्डौको सोह्रखुट्टे बस्ने २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भई हाल क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र बाफल बस्ने २७ वर्षीय राहुल चचान छन्। उनीहरुलाई प्रहरीले आइतबार र सोमबार काठमाण्डौका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
यी ३ जनाले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँबराबरको क्रिप्टो कारोबार गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हाल उनीहरुमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको जनाएको छ।