
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुङ्गाना (तिम्सिना)ले बैकिङ प्रणालीमा देखिएको तरलता समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित्त तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्न आग्रह गर्नुभयो ।
बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको उहाँको भनाइ छ । तरलता तथा ब्याजदरमा आएको उतारचढावको कारण समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको कायम मुकायम गभर्नर ढुङ्गानाले बताउनुभयो । व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने पनि उहाँको भनाइ छ ।
नेपालको गरिवी निवारण तथा वित्तीय पहुँच भन्दा बाहिर रहेका जनसंख्याको २० प्रतिशत समुदायलाई लघुवित्त संस्थाहरु प्रभावकारी साधन भएको उल्लेख गर्नुभयो । ढुङ्गानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिस्सा गरिवीको रेखा मुनी रहेको बताउनुभयो ।


