२०७३ भाद्र ३१ गते

तीन दिनमा पौने चार अर्ब पुँजी परिचालन : बजार घट्दा पनि घटेन लगानीकर्ताको मनोबल 

nepse1यो साता नेपाल स्टक एक्सचेन्जमा तीन दिन मात्रै सेयर कारोबार भयो । साताको मंगलबार र विहीबार सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन । गत साताभर नै ओरालो गतिमा रहेको सेयर बजारमा यो साता पनि खासै सुधार आउन सकेन । आइतबार नै ६.२४ अंकले घटेर लगानीकर्ताले निराशा भरिदिएको बजारले सोमबार १.८८ अंकको वृद्धि हासिल गर्यो । बजारले सुधारको गति लिन लाग्यो भन्ने आशामा रहेका लगानीकर्तालाई बुधबारको बजारले फेरि निराश तुल्यायो । बुधबार बजार ३.५० अंकले घटेर १८१५.१९ अंकमा कायम भयो । गत साताको अन्तिम दिन नेप्से १८२३.०५ अंकमा थियो । यस आधारबाट हेर्दा, यो साता सेयर बजार ७.८६ अंकले घटेको देखिन्छ ।

बजार निराशाजनक रहेपनि लगानीकर्ता हार भने मानेनन् । बजार घट्नेवित्तिकै आत्तिहाल्ने लगानीकर्ता यसपटक भने बजार बढ्ने आशामा टिकिरहे । त्यसैले, बजारमा कारोबार त्यत्ति घटबढ भएन । साताको आइतबार एक अर्ब १७ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको बजारमा सोमबार एक अर्ब १९ करोड रुपैयाँको कारोबार भयो भने बुधबार एक अर्ब ३७ करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भयो । समग्रमा साताभरमा तीन अर्ब ७४ करोड ८८ लाख १३ हजार नौ सय ६५ रुपैयाँ पुँजी परिचालन भयो ।

यो साता लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने सिद्धार्थ इक्विटीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो साता लगानीकर्ताको आकर्षण बैंकिङ समूहमा नै रह्यो । सनराइज बैंक, एभरेष्ट बैंक, एनबी बैंक लगायतको राम्रो कारोबार भएको छ । बीमा समूहमा पनि लगानीकर्ताको राम्रो आकर्षण रहेको देखिन्छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स, हिमालयन जेनेरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगायतको धेरै कारोबार भएको छ । मुक्तिनाथ विकास बैंकको पनि राम्रो कारोबार भएको छ । 

केही समयअघि बजारमा अधिकतम उतारचढाव हुँदा साना तथा नयाँ लगानीकर्ताहरु आत्तिएका थिए । योपटक भने त्यस्तो देखिएको छैन । सेयर विश्लेषकहरुले सेयर बजार घट्ने आधार नरहेको र केही समय घटेपनि यो क्रम लामो समयसम्म नरहने भएकाले आत्तिनुनपर्ने बताउँदै आएका छन् । बजारमा बुझेर छिर्नेहरुलाई घटबढले खासै असर नगर्ने विश्लेषकहरु बताउँछन् । यो साता लगानीकर्ताले पनि राम्रो प्रतिफल दिने कम्पनी छानेर लगानी गरे । त्यसैले, बजार घट्दा पनि कारोबार घटेन । परिसूचक लगातार ओरालो लाग्दा पनि लगानीकर्ताको मनोबल घटेको देखिएन ।