बुधबार नेपाल स्टक एक्सचेन्जमा एक अर्ब ३७ करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । चार घण्टाको कारोबार समयावधिमा एक सय ४७ वटा कम्पनीको १६ लाख ६३ हजार छ सय ७३ कित्ता सेयर सात हजार एक सय २७ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब ३७ करोड ३४ लाख ३० हजार तीन सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा थोरै बढेको हो । यसअघि, सोमबार एक अर्ब १७ करोड रुपैयाँको कारोबार भएको थियो ।
कारोबार बढेपनि बजार भने घटेको छ । अघिल्लो सातादेखि नै ओरालो गतिमा रहेको बजारले सोमबार केही आशा देखाएको भएतापनि बुधबार पुनः घटेको हो । जसअनुसार, बुधबार ३.५० अंकले घटेर नेप्से परिसूचक १८१५.१९ अंकमा कायम भएको हो । बीमा, होटल र उत्पादनमूलक समूह बढेपछि अरु सबै समूह आोरालो लागेपछि समग्र बजार नै प्रभावित भएको देखिन्छ । नेप्से तथ्यांकअनुसार, बीमा, होटल र उत्पादनमूलक क्रमशः ९०.२५, ४०.४४ र ७.५७ अंकले बढेका छन् । सबैभन्दा धेरै अन्य समूह १५.०४ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः ५.४१, ८.३३, ९.२४ र ०.४८ अंकले घटेका छन् ।
कारोबारका आधारमा बुधबार मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ, जसको १२ करोड ६३ लाख रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । एनआईसी एसियाको सवा सात करोड रुपैयाँको सेयर कारोबार भएको छ भने सनराइज बैंकको छ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नविल बैंक र प्रभु इन्स्योरेन्सको पनि छ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । एनबी बैंकको चार करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने सिद्धार्थ बैंकको सवा चार करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको तीन करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
किसान माइक्रोफाइनान्सका लगानीकर्ताले बुधबार १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने ङादी ग्रुप र त्रिवेणी विकास बैंकका लगानीकर्ताले क्रमशः ९.७५ र ९.४९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । गुडविल फाइनान्स, कावेली विकास बैंक, हाम्रो विकास बैंक, मिरमिरे माइक्रोफाइनान्स लगायतले पनि कमाएका छन् ।
एक्सेल डेभलपमेन्ट बैंकका प्रोमोटर सेयरधनीले सबैभन्दा धेरै नौ प्रतिशतका दरले गुमाएका छन् । युनियन फाइनान्स, जेविल्स फाइनान्स, साना किसान विकास बैंक लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।
