
बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज नेपाल सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत भएका छन्। नेप्सेमा नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा जारी विकास ऋणपत्र २०८२ ‘च’ र विकास ऋणपत्र २०८३ ‘च’ सूचीकृत भएका हुन्। यी विकास ऋणपत्र क्रमशः ४ र ५ वर्षे अवधिका हुन्।
विकास ऋणपत्र २०८२ ‘च’ १५ अर्ब रुपैयाँको हो। गत फागुन ४ गते निष्कासन गरिएको यो ऋणपत्रको साँवा भुक्तानी २०८२ फागुन ४ गते हुनेछ। यसमा लगानीकर्ताहरुले वार्षिक ५.९६ प्रतिशत ब्याज पाउँछन्।
यसैगरी विकास ऋणपत्र २०८३ ‘च’ १० अर्ब रुपैयाँको हो। यो ऋणपत्र गत फागुन ९ गते निष्कासन गरिएको थियो। यस ऋणपत्रको साँवा भुक्तानी २०८३ फागुन ९ गते हुनेछ। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६.९३ प्रतिशत ब्याज पाउँछन्।
