२०७३ भाद्र २७ गते

सामान्य अंकले भएपनि बढ्यो सोमबारको सेयर बजार : परिसूचक १८१८.६९ अंकमा

economicगत सातादेखि नै ओरालो गतिमा रहको सेयर बजार सोमबार सामान्य बढेको छ । नेप्से परिसूचक १.८८ अंकले बढेर १८१८.६९ अंकमा पुगेको छ । कारोबार रकम पनि सामान्य बढेको छ । आइतबार एक अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जमा सोमबार एक अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दिनभरिमा एक सय ४२ वटा कम्पनीको २९ लाख दुई हजार दुई सय ५५ कित्ता सेयर पाँच हजार छ सय ३५ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब १९ करोड ७८ लाख ४५ हजार सात सय ३० रुपैयाँ बराबरको कारोबार भएको हो ।

सोमबारको सेयर बजार बीमा समूहले बढाएको छ । बीमा समूह सबैभन्दा धेरै ४९.५७ अंकले बढेको छ । विकास बैंक, होटल र बैंकिङ पनि क्रमशः ७.६७, १.५२ र १.०४ अंकले बढेका छन् ।  जलविद्युत् र फाइनान्स समूह क्रमशः ३५.१६ र ०.७६ अंकले घट्दा अन्य समूह भने स्थिर रहेको छ । 

कारोबारका आधारमा सोमबार सनराइज बैंक अग्रस्थानमा रहेको छ, जसको छ करोड ६८ लाख ६८ हजार रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । मुक्तिनाथ विकास बैंक र प्रभु इन्स्योरेन्सको झन्डै पौने छ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा सिटिजन्स बैंकको चार करोड ६७ लाख रुपैयाँ, लुम्बिनी जेनेरल इन्स्योरेन्सको चार करोड ५८ लाख रुपैयाँ, एभरेष्ट बैंकको चार करोड १३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको चार करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एनआईसी एसिया बैंक, कृषि विकास बैंक लगायतको तीन करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

लक्ष्मी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ८.५८ प्रतिशतका दरले सम्पत्ति बढाउँदा ललितपूर फाइनान्सका लगानीकर्ताले ६.३० प्रतिशतका दरले कमाएका छन् । सानिमा बैंक, सगरमाथा फाइनान्स, सिटिजन्स बैंक, राष्ट्रिय बीमा कम्पनी लगायतका लगानीकर्ताले पनि कमाएका छन् । 

राप्तीभेरी विकास बैंकका सेयरधनीले सोमबार सबैभन्दा धेरै ६.०३४५ प्रतिशतका दरले गुमाएका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्राथ स्किम १ का सेयरधनीले ५.८७८४ प्रतिशतले गुमाएका छन् । हाम्रो विकास बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, कसमस डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।