Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्णालीको सुर्खेतमा वित्तीय सम्मेलन सम्पन्न, मुख्यमन्त्रीद्वारा समापन

२०७८ फाल्गुन २७ गते


बैंकिङ खबर/ कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक संचालित कर्णाली प्रदेशस्तरीय वित्तीय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको समापन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको अर्थतन्त्रको ढोका खुलेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कर्णाली प्रदेश प्रमुख विनय सिग्देलले वित्तीय शिक्षा लिन आम नागरिकलाई आग्रह गर्दै यस्तो कार्यक्रमको महत्व रहेको बताए ।

बीमा समितिका निर्देशक दिनेशलाल कर्णले वित्तीय साक्षरताले बीमा क्षेत्रलाई पनि सहयोग गरेको बताउँदै यस्ता कार्यक्रम अन्य ठाउँमा पनि निरन्तर संचालन गरिनुपर्ने बताए ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले वित्तीय जागरण राष्ट्रिय अभियानका सम्पूर्ण कार्यक्रममा कोषको सहकार्य रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा आइएमई लाइफ इन्स्योरेन्सका सिइओ कवि फुँयाल, प्रभु इन्सुरेन्सका सिइओ संचित बज्राचार्य, प्रभु टेक्नोलोजीका अध्यक्ष कुशम लामा, फाइनान्सियल डिजिटलाइजेशनका विज्ञ युवाराज थापा, अर्का विज्ञ केशव आचार्य, प्रभु पेका सुकल आचार्य लगायतका व्यक्तिले वित्तीय सम्मेलनले वित्तीय जागरणमा थप सहयोग पुर्याएको बताए ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा वित्तीय साक्षरताको र्याली र सूचनामूलक स्टलको प्रदर्शनी गरिएको थियो । मिडिया इन्टरनेसनलको आयोजनामा भएको सम्मेलनमा कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, युवा स्वरोजगार कोष, बीमा समिति लगायतको सक्रिय सहभागिता रहेको थियो । सम्मेलनमा शेयर बजार, बीमा, बैंक र लुघवित्तका बारेमा सूचनामूलक स्टलहरु राखिएका थिए ।

सम्मेलनका कार्यक्रम संयोजक माधव निर्दोषले कर्णाली प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्यसहित सम्मेलनको आयोजना गरिएको र सफलताका साथ सम्पन्न भएको बताए । विगत ७ वर्षदेखि देशव्यापीरुपमा संचालित ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ ले कर्णाली प्रदेशमा पहिलोपटक कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्धन गर्दै आएको छ ।

कार्यक्रममा कर्णालीको विकास, उद्यमशीलता, बैंकिङ तथा वित्तीय लगानी, कर्णाली प्रदेशको वित्तीय पहुँच, फाइनान्सियल डिजिटलाइजेशन, कर्णाली प्रदेशको बीमा पहुँच, स्वरोजगार र उद्यमशीलता तथा लघु उद्यमशीलता जस्ता विषयहरुमा अन्तक्र्रियात्मक कार्यक्रमहरुसमेत राखिएको थियो ।

हेर्नुहोस् तस्बिरहरु

Ad