
बैंकिङ खबर/ चालु आर्थिक वर्षको ७ महिनामा व्यापार घाटा बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो । माघसम्म कुल वस्तु व्यापार घाटा ३८.४ प्रतिशतले बढेर रु. १० खर्ब १५ अर्ब ८१ करोड पुगेको छ । गत वर्ष यही अवधिसम्म यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत रहेको थियो ।चालु आर्थिक वर्षको ७ महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ३१ अर्ब ६६ करोड पुगेको छ । गत वर्ष यही महिना यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा कुल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब ४७ अर्ब ४६ करोड पुगेको छ । गत वर्ष यही अवधिमा यस्तो आयात ०.०१ प्रतिशतले बढेको थियो ।
चालु खाता रु. ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष यही अवधिमा चालु खाता रु. १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा ८७ करोड २१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा बढेर ३ अर्ब ४७ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. २ खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति रु. ९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४.९ प्रतिशतले कमी आई रु. ५ खर्ब ४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।
यसैगरी पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको छ । जुन गत वर्षको यही अवधिको तुलनामा २.७० प्रतिशतले बढी हो ।
हेर्नुहोस् पूर्णपाठ




