Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यी पाँच आयामहरु : जसले कोर्‍यो बैंकिङ क्षेत्रमा एकपछि अर्को हिष्ट्री !

२०७८ फाल्गुन २७ गते

बैंकिङ खबर / ईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन ।

यद्यपी समयकाल बित्दै जाँदा जब खेतिपाती गर्ने यूगमा मानवको प्रवेश भयो, तब क्रमिक रुपमा श्रम विभाजन हुन थाल्यो । विस्तारै मानिसहरुले आफ्ना आवश्यकता पुरा गर्नको लागि वस्तु विनिमय अर्थात् आ–आफ्ना सामान एकअर्कासँग साटासाट गरी आफ्ना आवश्यकता पूर्ति गर्न थाले । त्यससमयमा पैसाको चलनचल्ती नै थिएन । 

वस्तु विनिमय 

आफूसँग भएको वस्तु दिएर आफूलाई आवश्यक पर्ने वस्तु साटासाट गर्नु नै वस्तु विनिमय हो । मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो । अर्थात् वस्तुसँग वस्तु साटासाट गर्नुपर्ने चलन थियो । वस्तु–विनिमय गर्दा अनेकौँ किसीमका कठिनाईहरु झेल्नुपर्ने स्थिती थियो । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन ।

गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्था आयो भने कुनै अर्को व्यक्तिलाई गहुँ चाहिएको छ, तर उसँग धान मात्रै छ भने, मात्रै उनिहरुबिच वस्तु विनीमय सम्भव थियो । यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुस्किल हुन्थ्यो । अर्थात् वस्तु साटासाट हुनका लागि दुवैथरि एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो । यो एउटा उदाहरण मात्रै हो । तपाई परिकल्पना गर्नुहोस् त भैसीपालन छोडेर बाख्रापालन गर्न चाहनेले कती सास्ती खेप्नुपथ्र्यो होेला ? यद्यपी समयको लामो कालखण्ड पछि वस्तु विनिमयका यावत् समस्याहरु मुद्राको प्रतिपादनले क्रमिक रुपमा हटाउँदै लग्यो । 

सिक्का तथा मुद्राको विकास, कौडि : विनिमयको पहिलो अभ्यास 

विनिमयको पहिलो अभ्यासका रुपमा कौडीलाई लिईन्छ । स्थानिय व्यापार विनिमयको साधनको रुपमा मानिसहरु माझ एकताका कौडि निकै नै लोकप्रिय थियो । विस्तारै मानिसहरुले धातु, सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सूविधाजनक माध्यम बनाउन थाले । त्यसपछि क्रमिक रुपमा मूद्राको महत्व बढ्न थाल्यो । आजसम्ममा प्राप्त नेपाली मूद्राहरुमा ईस्वी पाचौं शताब्दीका राजा मानदेवले चलाएको ‘मानाङ्क’ मुद्रा नै सबैभन्दा प्राचिन मुद्रा हो ।

मुद्रा : कारोबारमा सरलता 

वस्तु विनिमयबाट कौडिमा रुपान्तरण भएको कारोबार विस्तारै मुद्राको युगको सुरुवातमा पुग्यो ।  मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मानिसले कल्पना गरेभन्दा बढी योगदान पु¥यायो । मुद्राले वस्तु–विनिमय युगका कठिनाई र असहजतालाई समाप्त पारिदियो । मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी बन्न, लगानी गर्न र ठूलो पूँजी निर्माण गर्न ज्यादै सजिलो बनायो ।

मुद्राको प्रयोगले मानिसका सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो पारिदियो । त्यति मात्र होइन, आफूसँग भएको सम्पत्ति मानिसले मुद्रामा परिणत गरेर आफूले चाहेको स्थानमा सजिलै लग्न सक्ने स्थिति पनि सृजना गरिदियो । 

नेपालमा कागजी नोटहरु

नेपालमा आधुनिक कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा शुरु भयो । कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । नेपाल राष्ट्र बैंकको स्थापनासँगै त्यसताका प्रचलनमा रहेका भारतीय नोटहरुलाई पनि प्रतिस्थापन गर्दै लगियो । हाल नेपालमा नेपाली नोट (मुद्रा) नै आधिकारिक विनिमयको माध्यम बन्दै आएको छ ।

हाल नेपालमा पहिलेका राजाहरुको तस्वीर अङ्कित कागजी नोटहरु केही मात्रामा मात्र बाँकी रहेका छन् । ती नोटहरुका साथै देशको राजनैतिक परिवर्तन सँगसँगै नेपालमा गणतन्त्र स्थापना भएपछी प्रचलित कागजी नोटहरुमा देशका प्राकृतिक सम्पदाहरु अङ्कित तस्वीरहरु राख्ने गरिएको छ । 

आधुनिक बैंकिङ : सहज पार्दैछ जिवन 

आधुनिक बैकिङ्ग पद्धतिको विकाससंगै चेक, प्लास्टिक मूद्रा (डेविट कार्ड, क्रेडिट कार्डं) इलेक्ट्रोनिक बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, मोबाईल बैंकिङ समेतको विकास भइसकेको छ । अन्तर्राष्ट्रिय व्यापारको विविधतासँगै मुद्रा प्रचलनको सहजताका लागि विभिन्न अन्तर्राष्ट्रिय मुद्राहरुमध्ये अमेरिकी डलरलाई आधार मुद्राको रुपमा लिई अन्तर्राष्ट्रिय व्यापार गरिँदै आएको छ ।

विश्व व्यापारीकरणसँगै एक अर्कामा परनिर्भर बन्दै गएको बढ्दो अन्तराष्ट्रिय व्यापारिक कारोबारलाई जीवन्तता दिन आधुनिक बैकिङ्ग प्रणालीले नयाँ पद्धतिहरु अपानाएर दिएको सेवाले मानव जीवनलाई निकै सहज तुल्याएको छ ।

मोवाइल बैंकिङ

बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ । आजको युगमा मोबाइल फोन नबोक्ने व्यक्तिहरु कमै भेटिन्छन् ।

त्यसैले, मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको पाइन्छ ।

मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा आजको व्यस्त समाजमा मोबाइल बैँकिङ निकै नै फाइदाजनक रहेको सरोकारवालाहरु बताउँछन् । यद्यपि, कतिपय बैँकहरुले मोबाइलबाट गर्ने वित्तिय कारोबारमा निश्चित दायरा बनाएका हुन्छन् । 

मोबाइल बैँकिङले प्रदान गर्ने सेवा तथा सुविधाहरु

  • एकाउन्ट र कारोबारका बारेमा जानकारी
  • आफ्नो एकाउन्टबाट जुनसुकै अरु एकाउन्टमा तुरुन्तै पैसा ट्रान्सफर गर्न सक्ने सुविधा
  • रजिस्टर भएका जुनसुकै कम्पनिको विल तिर्नुका साथै मोबाइल रिचार्ज समेत गर्न सकिने
  • आफ्नो बैँकिङ कारोबारबारे एसएमएसमार्फत जानकारी प्राप्त गर्न सकिने
  • विनिमय दर, ब्यालेन्स लगायतका कुराहरुका बारेमा सोधपुछ गर्न सकिने

मोबाइल बैँकिङका फाइदा तथा बेफाइदाहरु

आफ्नो मोबाइल अथवा ट्याबलेटबाट नै सम्पूर्ण बैँकिङ कारोबार हुने भएकाले यसले समयको बचत गराउँछ । चौबिसै घण्टा उपलब्ध हुने यो सेवाका कारण मानिसले जुनसुकै समयमा पनि बैँकिङ कारोबार गर्न सकेका छन् । मोबाइल बैँकिङको प्रयोगबाट बिल तिर्ने, एक व्यक्तिको एकाउन्टबाट अर्को व्यक्तिकोमा पैसा ट्रान्सफर गर्ने लगायतका सेवाहरु लिन सकिन्छ ।

मोबाइलबाट नै आफ्नो एकाउन्ट चेक गरिरहन मिल्ने हुँदा सर्वसाधारणलाई निकै सहज भइरहेको छ । मोबाइल बैँकिङका कारण उपभोक्ताहरुको बैँक जानुपर्ने आवश्यकतामा विस्तारै कम हुँदै गएको छ । मोबाइल बैँकिङबाट चेक अथवा पैसाको प्रत्यक्ष कारोबार गर्न नमिल्ने हुँदा उपभोक्ताले बैँकको शाखा अथवा एटीम नै जानुपर्ने वाध्यता भने अझै पनि रहेको छ । 

यसरी विकास भयो मोबाइल बैँकिङको अवधारणा

मोबाइल बैँकिङको पहिलो चरणको रुपमा एसएमएस बैँकिङलाई लिने गरिन्छ । सन् १९९९ मा स्मार्ट फोनको प्रचलन आएसँगै मोबाइल वेभको अवधारणा सुरु भयो । युरोपियन बैँकहरुको मोबाइल वेभको प्रयोगको सुरुवात गरेका थिए ।

प्रविधिको विकाससँगै एनरोइड सिस्टमको विकास तथा विस्तारले विभिन्न एनरोइड एपहरु जन्मायो र मोबाइल बैँकिङको अवधारणालाई विकास एवम् विस्तार गर्न मद्धत गर्यो ।

Ad