
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको छ। विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको हो। सोहीबमोजिम गर्न गराउन विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ।
यसैगरी बैंकले गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा कुनै एक कागजपत्रको प्रतिलिपि लिनुपर्ने व्यवस्था गरेको छ। जसअनुसार नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालको अद्यावधिक परिचयपत्र, गैरआवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदान (स्वदेशी वा विदेशी) वा साबिकमा स्वयं वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रहीपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानी वा नागरिकसहित त्यस्तो प्रमाणित हुने कागजात लिनुपर्नेछ।
यी उल्लेखित कुनै एक कागजपत्रसहित नाता प्रमाणित हुने कागजातका आधारमा नाबालकको नाममा समेत यस्तो खाता खोल्न तथा सञ्चालन गर्न सकिने राष्ट्र बैंकले व्यवस्था गरेको छ।
यसैगरी गैरआवासीय नेपालीबाट प्रवर्द्धित विदेशस्थित संस्थाको खाता खोल्दा तथा सञ्चालन गर्दा माथि उल्लेखित कागजातको प्रतिलिपिसमेत लिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ को एकीकृत इ.प्रा. परिपत्रः ०१÷७८ को दफा १.३.१ को व्यवस्थालाई खारेज गरेको छ।



