
बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा राम्रा भन्दा धेरै विकृति भएकाले तत्काल सुधार गर्न निर्देशन दिएका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित पुँजीबजारको वर्तमान अवस्था सम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले बजारमा भित्री कारोबार, कर्नरिङलगायत गतिविधि बढेकाले लगानीकर्ताको सम्पत्तिको सुरक्षाका लागि विशेष प्रवन्ध मिलाउनुपर्ने बताए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलगायतको उपस्थितिमा अर्थमन्त्री शर्माले बजार सुधारका लागि निर्देशन दिएका हुन् ।
‘पूँजी बजारको विकासका लागि काम गर्नुस्, कतैको दबाबमा प¥यो भने संस्थाको काम हुँदैन,’ अध्यक्ष हमालको नाम नै तोकेर उनले भने, ‘पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न कस्ता नीति चाहिन्छ भन्नुस् ।’
अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई पनि बजारलाई पारदर्शी बनाएर कारोबार गराउन निर्देशन दिए । रियल डाटा पाउने र दिनको दिनमै खरिद बिक्री गर्न पाउने र सापटी लिएर पनि सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था गराउन उनले निर्देशन दिए ।
कार्यक्रमा बोल्दै कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजीबजार सम्बन्धि ऐन समय सापेक्ष नभएको बताए । उनले पुँजीबजार सुधारका लागि अहिले भएका नीतिगत व्यवस्थाहरुलाई संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए । कार्कीले शेयर बजारलाई प्रभावकारी बनाउनका लागि प्राविधिको अध्ययन गर्नु पर्ने जानकारी दिए ।
त्यस्तै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए । उनले पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नु पर्ने बताए । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिए ।
त्यस्तै अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुस्करले पुँजीबजार आन्तरिक मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी देखाउनु पर्ने बताए । उनले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिए ।