गत सातादेखि नै ओरालो गतिमा रहेको सेयर बजारले यो साताको सुरुवात पनि गिरावटबाटै गरेको छ । नेप्से परिसूचक ६.२४ अंकले घटेर १८१६.८१ अंकमा कायम भएको छ । आइतबारको बजार होटल, बीमा र बैंकिङ समूहले घटाएका हुन् । होटल समूह ३७.६५ अंकले घट्दा बीमा समूह २२.०४ अंकले घटेको छ भने बैंकिङ ११.४ अंकले घटेको छ । फाइनान्स पनि १.७ अंकले घटेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह ३०.४४ अंकले बढेको छ भने विकास बैंक र अन्य क्रमशः ०.९१ र ३.१९ अंकले बढेका छन् ।
आइतबार नेपाल स्टक एक्सचेन्जमा एक अर्ब १७ करोड बराबरको पुँजी परिचालन भएको छ । दिनभरिमा एक सय ४५ वटा कम्पनीको १८ लाख ५१ हजार एक सय ९१ कित्ता सेयर पाँच हजार सात सय ६५ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब १७ करोड ७५ लाख ३७ हजार आठ सय ६१ रुपैयाँ बराबरको कारोबार भएको हो ।
कुल कारोबारमध्ये सबैभन्दा धेरै एनबी बैंकको छ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । चिलिमे हाइड्रोको सवा पाँच करोड रुपैयाँ, एभरेष्ट बैंकको चार करोड ४५ लाख रुपैयाँ, लुम्बिनी जेनेरल इन्स्योरेन्सको सवा चार करोड रुपैयाँ र सनराइज बैंकको चार करोड १९ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक, एनआईसी एसिया बैंक, हिमालयन जेनेरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, कृषि विकास बैंक लगायतको तीन करोड रुपैयाभन्दा धेरैको सेयर कारोबार भएको छ ।
लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९.९७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने समिट माइक्रोफाइनान्स लगानीकर्ताले ८.६६ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । मितेरी डेभलपमेन्ट बैंक, नविल ब्यालेन्स फण्ड १, कालिका माइक्रोक्रेडिट, मिथिला लघुवित्त लगायतका लगानीकर्ताले पनि कमाएका छन् ।
सिद्धार्थ इक्विटी वरियन्टेड स्किमका लगानीकर्ताले सबैभन्दा धेरै १०.०३४ प्रतिशतका दरले गुमाएका छन् भने शिखर इन्स्योरेन्सका प्रोमोटर सेयरधनीले ७.६८ प्रतिशतले गुमाएका छन् । गुहेश्वरी मर्चेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक, पूर्णिमा विकास बैंक लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।
