Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक र सहकारीमा व्याजदर बढ्दा लघुवित्तको व्याजदर के हुन्छ ?

२०७८ फाल्गुन १७ गते


बैंकिङ खबर/ फागुनदेखि लागू हुने गरी बैंकहरुको व्याजदर बढेको छ । नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर फागुनदेखि लागू हुनेगरि सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाएका हुन् ।

बैंकहरुले मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज लिन पाउने बैठकले निर्णय गरेको थियो । त्यस्तै बचत खाातामा न्युनतम ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशतसम्म ब्याजको दर तोक्न पाउने व्यवस्था गरेको छ । त्यस्तै बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिएका छन् । माघमा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो ।

वाणिज्य बैंकहरुले ब्याजदर बढाउँदा पनि निक्षेप नबढेको भन्दै गत महिना ब्याजदर स्थिर राखेका थिए । गत महिना धेरैजसो बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर तोकेका थिए ।

केन्द्रीय बैंकले एक महिनामा समग्र बैंकिङ्ग सिष्टमको औसत ब्याजदर भन्दा १० प्रतिशतले मात्रै घटबढ गर्न पाउने व्यवस्था गरेको थियो ।यस्तै वाणिज्य बैंकहरुले फागुन १ गतेबाट लागु हुने निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंक र वित्त कम्पनीहरुले पनि निक्षेपको ब्याजदर बढाएका छन् ।

विकास बैंकका सीईओेहरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले विकास बैंकहरुले मुद्धति निक्षेपको अधिकतम ब्याजदर ११.५५ प्रतिशत पुर्याउने निर्णय गरेको थियो ।

रेमिट्यान्सलाई भने १२.५५ प्रतिशतसम्म दिन सक्नछन् । संस्थागत मुद्धति निक्षेपमा १०.३५ प्रतिशत र बचतको न्यूनतम ब्याजदर ६.५५ प्रतिशत पुग्ने जनाइएको छ ।

फाइनान्स कम्पनीले विकास बैंकको भन्दा ०.१ प्रतिशत बढी ११.६५ प्रतिशत ब्याजदर दिने भएका छन् । फाइनान्स कम्पनीले रेमिट्यान्सको मुद्धति निक्षेपमा १२.६५ प्रतिशत र संस्थागत मुद्धतिमा ११.६५ प्रतिशत ब्याजदर प्रकाशित गर्ने भएका छन् ।

यता सहकारीहरुको पनि सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ । सहकारी विभाग अन्तर्गत सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले सहकारीमा १६ प्रतिशत ब्याजदर तोकेको हो ।

राष्ट्रिय सहकारी महासंघले तरलता अभावका कारण १७ प्रतिशत व्याजदर बनाउन सुझाव दिएपनि व्याजदर निर्धारणका लागि तोकिएको प्राविधिक उपसमितिले दिएको सुझाव र अर्थमन्त्रालय, सहकारी मन्त्रालय लगायतका सहमतिमा १६ प्रतिशत तोकिएको हो ।

सन्दर्भ व्याजदर निर्धाणका लागि बनाइएको प्राविधिक उपसमितिले १६.२२ प्रतिशत बनाउनु उपयुक्त हुने प्रतिवेदन दिएको थियो । लामोसमयदेखि सन्दर्भ व्याजदर परिवर्तन हुन नसक्दा तरलता अभावका कारण सहकारीको रकम बैंकहरुमा गइरहेको गुनासो सहकारीहरुले गरेका थिए ।

सन्दर्भ व्याजदर तोक्नका लागि पटक पटक सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेको भए पनि निष्कर्षमा पुग्न सकेको थिएन ।
यसअघि सहकारीमा सन्दर्भ व्याजदर १४.७५ प्रतिशत तोकिएको थियो । नयाँ तोकिएको व्याजदर आइतबारदेखि लागु भएको विभागले जनाएको छ ।

लघुवित्तको व्याजदर के हुन्छ ?

यता बैंक र सहकारीको व्याजदर बढेसँगै लघुवित्त संस्थाहरुले पनि व्याजदर बढाएका छन् । लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष एवं लघुवित्तकर्मी बसन्त लम्साल माघ, फागुन महिनाबाटै लघुवित्त संस्थाहरुको व्याजदर बढेको बताउँछन् । बैंकिङ खबरसँग कुरा गर्दै उनले भने, ‘लघुवित्तहरुको व्याजदर बढेको छ । लघुवित्तले व्याजदर १२, १३ देखि १५ सम्म पनि भनेको अवस्था छ । समग्रमा हामीले १३, १४ प्रतिशतमा लिइरहेका छौं ।’

उनले थपे ‘मिनिमम १२ भइसक्यो । मेक्सिममा १५ सम्म छ ।’ गत वर्षको तुलनामा लघुवित्तको व्याजदर दोव्वर बढेको हो । अध्यक्ष लम्सालका अनुसार गत वर्ष ५, ६ प्रतिशत मात्रै थियो । अहिले १२ देखि १५ प्रतिशतको बीचमा व्याजदर छ । यस्तै उनले लघुवित्तमा पनि तरलताको असर परेकाले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । उनले भने, ‘धेरै जसो लघुवित्तले ऋण दिनै सकेका छैनन् । केहिले पनि दिएको अवस्था छ ।’