
बैंकिङ खबर/ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यतिबेला गैरआवासीय नेपालीहरुसँग छलफलमा जुटेका छन् । विदेशी मुद्राको सञ्चिति घटेपछि उनी छलफलमा जुटेका हुन् ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई अहिले गभर्नरले व्यस्त बनाएका छन् । उनी पनि जापान र कोरियाका गैरआवासीय नेपालीसँग परामर्श गरिरहेका छन् ।
उनीहरुसँगको परामर्शबाटै गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा गर्दै ’गैर आवासीय नेपालीको नाममा परिवर्त्य विदेशी मुद्रामा खाता खोल्न सकिने सम्बन्धि विद्यमान व्यवस्थालाई पुनरावलोकन’ बुँदालाई प्राथमिकताका साथ उठान गरेका छन् ।
चालु आर्थिक वर्ष उच्च दरले आयात बढेको छ । गत वर्ष मासिक औसत एक खर्ब २८ अर्ब ३२ करोड रुपैयाँका दरले आयात भएको थियो । यस चालु आर्थिक वर्ष भने आयातको मासिक औसत १ खर्ब ६६ अर्ब ५५ करोडले भइरहेको छ । अर्थात् गतवर्ष भन्दा मासिक औसत आयात ३८ अर्ब २३ करोड रुपैयाँले बढेको छ ।
उच्च आयातसँगै भुक्तानीका लागि विदेशी मुद्राको सञ्चिति एकदमै धेरै प्रयोग भएको छ । असार मसान्तको तुलनामा पुस मसान्तमा सञ्चिति २ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँले घटेर ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँमा झरेको छ ।
रेमिटेन्स आय गत वर्ष मासिक औसत ८० अर्ब ८ करोड रुपैयाँका दरले भित्रिने गरेको थियो । यसवर्ष भने ७८ अर्ब ७ करोड रुपैयाँले भित्रिरहेको छ । गत वर्ष विदेशी मुद्रा सञ्चितिमा वैदेशिक ऋण र अनुदानले भरथेग गरेको थियो । यस वर्ष अपेक्षाभन्दा निकै कम मात्र आएको छ । सबै हिसाबले विदेशी मुद्राको क्षयीकरण हुन थालेपछि राष्ट्र बैंकले आयातमा कडाइ गर्ने नीति लिएको छ ।
लामो समयसम्म आयात रोक्न नसकिने भएपछि विदेशी मुद्राको जोहो गर्न गभर्नर गैरआवासीय नेपालीहरुलाई फकाउन सक्रिय देखिन्छन् ।
यता बैंकरहरुले पनि गभर्नरलाई मुद्रा ’स्वाप’ मा जान सुझाएका छन् ।
गभर्नर अधिकारीले पहिलो त्रैमासिक समीक्षामा पनि गैर आवासीय नेपालीको खाता खोलाउन नीति पुनरावलकोन गर्ने बताएका थिए । त्यो नीतिले गैरआवासीय नेपालीलाई आकर्षित गर्न सकेको छैन । त्यसपछि उनी सक्रिय छलफलमा लागेका हुन् ।




