
बैंकिङ खबर/ करिब ६ महिनासम्म रोकिएको प्राथमिक सेयर (आईपीओ) शुक्रबारबाट खुलेको छ । शुक्रबारदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुलेको हो । सो कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सोमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।
कम्पनीको आईपीओमा आवेदन दिने आज(मंगलबार) अन्तिम दिन रहेको छ । एक व्यक्तिले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार २२० कित्तासम्म आवेदन दिन सकिनेछ । सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।
यस्तै माघ २६ गतेदेखि इमर्जिङ नेपालको खुल्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ५ लाख ५५ हजार ६ सय कित्ता अर्थात ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्नेछ । फागुन १ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणलाई बाँडफाँट हुनेछ । माघ २७ गतेदेखि प्रभावित स्थानीयका लागि बलेफी हाइड्रोपावरको आईपीओ खुल्ने भएको छ । स्थानीयका लागि आईपीओ खुलाइसकेपछि सर्वसाधारणका लागि कम्पनीले आईपीओ निस्कासन गर्नेछ ।
सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रहरु जुगल गाउँपालिका वडा नम्वर २,३ र ४ का लागि १० लाख ९६ हजार ७८२ कित्ता र प्रशारणलाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नम्वर १, ३, ६ तथा ७ र सुनकोसी गाउँपालिकाको वडा नम्वर ७ का लागि ७ लाख ३१ हजार १८८ कित्ता सेयर निस्कासन हुने छ । यो कम्पनीको आईपीओमा प्रभावित स्थानीयले फागुन १२ गतेसम्म आवेदन दिन सक्ने छन् । ३६ मेगावाट क्षमताको यस आयोजना रनअफ रिभरमा आधारित हो । कुल लागत ७ अर्ब ६५ करोड लाग्ने अनुमान छ ।
अन्य ३ कम्पनीको आईपीओ पनि दुई महिनाभित्रै आउने छ । ग्रीन भेन्चर हाइड्रोपावर, नेस्डो समृद्धि लघुवित्त र राष्ट्रउत्थान सामुदायिक लघुवित्तको आईपीओ आउने छ । यी ३ कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । ग्रीन भेन्चरले ६२ लाख ५० हजार र नेस्डोले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने जनाइ सकेको छ ।
यता राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २६ करोड पुग्नेछ।