Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो, लगानी गर्न छुटाउनुहोला ?

२०७८ माघ २१ गते


बैंकिङ खबर/ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारदेखि ५ करोड २२ लाख रुपैयाँको आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले १०० अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गरेको छ । जसमध्ये जारीपुँजीको ०.५ प्रतिशतले हुन आउने ८ हजार कित्ता कर्मचारीका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशतले हुन आउने २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणका आवेदन दिन पाउनेछन् ।

यो आईपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २०० कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ ।

यो आईपीओको निष्काशन बन्द छिटोमा माघ २५ गते हुने कम्पनीले जनाएको छ । तोकिएको समयमा मागबमोजिम आवेदन नपरेको खण्डमा मात्रै यो आईपीओको निष्कासन बन्द ढिलोमा फागुन ६ गते बैंकिङ समयपश्चात हुनेछ ।
यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो । आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि यस संस्थालाई इक्रा नेपालले (इक्रा–आईआर) बीबी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ । कास्कीको पोखरा सिमचौरमा केन्द्रीय कार्यालय रहेको यो संस्थाको चुक्तापुँजी १६ करोड रुपैयाँ र रिजर्भमा ३९ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

अबको ३ वर्षमा अर्थात आर्थिक वर्ष २०८०/८१ मा रिजर्भको आकार ७१ करोड ४० लाख रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण रहेको छ । आव २०८०/८१ सम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ११२.८७ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। चालु आव २०७८/७९ मा ईपीएस ७४.३२ रुपैयाँ रहने अनुमान गरिएको संस्थाको आव २०७९/८० मा ८७.३३ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।
त्यस्तै आव २०८०/८१ मा संस्थाको प्रतिसेयर नेटवर्थ ४९३.६२ रुपैयाँ पुग्ने अनुमान गरिएको छ। चालु आव २०७८/७९ मा प्रतिसेयर नेटवर्थ २९७.४२ रुपैयाँ र आव २०७९/८० मा ३८३.०१.८३ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।

संस्थाले आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १८ करोड ५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आवमा कम्पनीको नाफा ११ करोड ८९ लाख रुपैयाँ र आउँदो आवमा १३ करोड ९७ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

अबको ३ वर्ष अर्थात आव २०८०/८१ लगानीको प्रतिफल २.४५ प्रतिशत हुने संस्थाको प्रक्षेपण छ । चालु आवमा यस्तो प्रतिफल २.२४ प्रतिशत र आगामी आवमा २.२२ प्रतिशत रहने संस्थाको अनुमान छ । आव २०८०/८१ सम्म निष्क्रिय कर्जा दर (एनपीएल) ०.६० प्रतिशतमा झर्ने प्रक्षेपण संस्थाको छ । चालु आवमा एनपीएल २.३० प्रतिशत र आगामी आवमा १.२४ प्रतिशत रहने संस्थाको अनुमान छ ।

हाल संस्थाले २४ जिल्लाहरुमा ८७ वटा शाखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनुमगन कार्यालय र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आएको छ ।

‘ढुक्क भएर लगानी गर्नुस्’
संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगीले शुक्रबारदेखि आउन लागेको शेयरमा ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छन् ।

बैंकिङ खबरसँग कुरा गर्दै उनले भनिन्, ‘संस्था राम्रो छ । संस्थाको सूचकहरु राम्रो छ । हामीले यो लघुवित्त भनेर मात्र काम गरेका छैनौं । विपन्न परिवारलाई पनि मालिक बनाउँदै छौं । हामीले लगानी गरेका सदस्यहरु पनि उद्यमशिलतामा सफल हुनुभएको छ ।’

Ad