
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागलार्य आपसमा गाभेको छ ।
गाभिएपछि नयाँ विभागको नाम ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ राखिने भएको छ । गभर्नर अध्यक्ष हुने व्यवस्थापन समितिको कात्तिक ११ गतेको बैठकले यी दुई विभाग गाभ्ने निर्णय गरेको थियो । गाभिएको विभागले फागुन १ गतेबाट एकीकृत भएर काम गर्ने राष्ट्र बैंकले जनाएको छ ।
अहिले राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकमा प्रदीपराज पौडेल छन् भने फाइनान्स कम्पनी सुपरिवेक्षण विभागमा पिताम्बर भण्डारी छन् । नयाँ विभागको जिम्मेवारी बिहीबारसम्म कसैलाई पनि तोकिएको छैन ।
यस्तै राष्ट्र बैंकले ‘गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग’ थप गरेको छ । यसको प्रमुखको जिम्मेवारी अहिलेलाई वीरेन्द्रदत्त अवस्थीलाई दिइएको छ । उनी अहिले बैंकिङ विभागको निर्देशक छन् । नयाँ विभागले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआईडीसीएलजस्ता संस्थाहरुको सुपरिवेक्षण गर्ने राष्ट्र बैंकले जनाएको छ ।