Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २ अर्ब ३० करोड लगानी गर्दै

२०७८ माघ १६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ८४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३४ करोड ५० लाख रुपैयाँ र फाइनान्समा ११ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि माघ १८ गते साँझ ५ बजेसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ।

यस्तो लगानी आउँदो फागुन ३ गतेदेखि २०७९ फागुन ३ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।यस्तो मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्नेछ।

त्यस्तै निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ भने खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। यसैगरी रियल स्टेट कर्जा राष्ट्र बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्छ।