
नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष हुन्, भिष्मराज ढुंगाना । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणबारे सरकारले छानबिन गर्ने निर्णय गर्दै उनलाई गत असोज ५ गते निलम्बन गरेको थियो ।
सरकारले ढुंगानामाथि लागेका आरोपबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा प्रा.डा. नारायणप्रसाद पौडेल र अर्जुनकुमार खड्का सदस्य रहेको ३ सदस्यीय कमिटी गठन गरेको थियो । उक्त समितिले गत असोज १ गते छानबिन प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइसकेको छ ।
प्रतिवेदनमा ढुंगाना दोषी रहेको निष्कर्षसहित कारबाही गर्न सिफारिससमेत गरिएको छ । समितिको प्रतिवेदनले दोषी ठहर्याएपछि सरकारले ढुंगानालाई पदबाट बर्खास्त गरेको थियो ।
यद्यपी ढुंगानाले भने आफूले कुनै गल्ती नगरेको र बिना कारण फसाउन खोजेको भन्दै आफ्नो बचाउ गर्दै आएका छन् । उनले आफू अन्यायमा परेको भन्दै न्यायका लागि अदालत पुगेको पनि बताएका छन् ।
यसैबीच यसपटक हामीले ढुंगानासँग छोटो प्रतिक्रिया लिएका छौं । प्रस्तुत छ ढुंगानासँग बैंकिङ खबरले लिएको प्रतिक्रिया जस्ताको जस्तैः
आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
आजभोलि अध्ययनमा व्यस्त छु । देशको विकासका लागि के गर्न सकिन्छ भन्ने सोचाईमा छु । त्यसका अतिरिक्त अध्ययनलाई अघि बढाउँ कि भनेर पिएचडि गर्ने तयारीमा पनि छु।
तपाईं पदमा बहाल हुँदा धेरै विवाद र आरोपहरुआए, यस विषयमा के भन्नुहुन्छ ?
होइन, यो पुँजीबजार भन्या नै यस्तै क्षेत्र रहेछ । मैले जाने बुझेसम्म केही गल्ती गरेको छैन । राम्रो गर्न खोज्नेलाई काम गर्न नदिने परिपाटी रहेछ । केही पहुँचवाला मान्छेहरुले आफू अनुकूल गर्न खोज्ने रहेछन् ।मलाई पनि यसमै मुछ्न खोजिएको हो।
सर्वोच्चमा मुद्दा दर्ता गर्नु भो कि छैन ?
न्यायका लागि त जानै परो नि । मान्छे समस्यामा परेपछि न्याय खोज्न जानु स्वभाविक होइन र ?
के हुँदैछ त यसपछिका प्रक्रियाहरु ?
अदालतमा विचाराधिन विषयमा मैले अहिले यही हो भन्न मिल्दैन । अहिले अदालत बन्द नै छ । खुलेपछि प्रक्रिया अघि बढ्छ ।
तपाईंलाई किन र कसरी फसाइएको जस्तो लाग्छ ?
यो त मैले भन्दा पनि तपाईंहरुले नै मूल्यांकन गर्ने कुरा हो नि । मैले के भन्नु र ? मैले आफूले जाने बुझेसम्म केही गलत काम गरेको छैन र गल्ती नगरेको मान्छेले न्याय पाउनु पर्छ । मेरो भन्नु यति नै हो।
भनेपछि तपाईं आफू अन्यायमा परे जस्तो लाग्छ?
म अन्यायमा परेको छु । अन्यायमा नपरि कोही अदालत जाँदैन ।
हालै शंकास्पद रुपमा तपाईको बैंक खातामा पैसा आयो भन्ने छ नि ?
मैले कुनैपनि अस्वाभाविक कारोबार गरेको छैन । मेरो बेइज्जत गराउनका लागि बैंकमा भएको कारोबारको विषयलाई लिएर दुष्प्रचार गरिएको हो ।
म राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश भएको व्यक्ति हुँ । राष्ट्र बैंकबाट अवकाश हुने पियनले मात्रैपनि १ करोड रुपैयाँ पाउँछ भने म त कार्यकारी निर्देशक पदबाट अवकाश भएको व्यक्ति हुँ । त्यसैले जति पनि रकमहरु बैंकमा ट्रान्सफर भएको छ त्यसबारेमा सम्बन्धित बैंकमै गएर बुझ्दा हुन्छ । तर, अहिले बैंकमा अन्तैबाट पैसा आयो भनेर भ्रम छर्ने काम भइरहेको छ ।
तपाईंले आफ्नो कार्यकालमा के के काम गर्नुभयो ? के के थिए योजनाहरु ?
मैले सकेसम्म राम्रो काम गरें । पुँजीबजारलाई सुधार गर्न धेरै सकारात्मक कामहरुको सुरुवात गरेको थिएँ । करिब डेढ दर्जन नयाँ रेकर्डहरु बनेका थिए । मेरो कार्यकालमा नेप्से परिसूचक ३२०० अंकभन्दा माथि पुगेको थियो । एकैदिन २१ अर्बभन्दा बढीको कारोबार भएको थियो।अहिले यो बजार अस्तव्यस्त बनेको छ ।
यति मात्र होइन पुँजीबजारलाई कसरी सुधार गर्न सकिन्छ भनेर अहोरात्र खटिएको मान्छे हुँ । मैले पुँजीबजारलाई स्थायित्व दिने प्रयास गरें । तर यहाँ राम्रो काम गर्ने मान्छेका खुट्टा तान्ने परिपाटी रहेछ । काम गर्नै दिइएन ।
भने पछि आफूले शेयर बजारमाथि उकास्न धेरै राम्रो काम गरें जस्तो लाग्छ ?
त्यो त हो नि, मैले कहिल्यै नराम्रो काम गरेकै छैन । मलाई फसाउने काम भएको छ । म अदालतको ढोकामा पुगेको छु । आशा छ पक्कै न्याय पाउनेछु ।