Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कोरोना संक्रमणको जोखिममा बैंक–वित्त, जोखिम मोलेरै सर्भिस !

२०७८ माघ १३ गते


बैंकिङ खबर/ कोरोनाको तेस्रो लहरका कारण यसको असर बैंक वित्तमा पनि परेको छ । नेपालमा हाल दैनिक दश हजार बढी कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै यसको असर बैंक वित्तमा पनि परेको हाे। पछिल्लो समय बैंकिङ क्षेत्रका कर्मचारी कोरोना जोखिममा पर्न थालेका छन् । बैंकवित्तहरुमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको छ।

अधिकांश बैंकवित्तका कर्मचारीमा कोरोना संक्रमणले छोएको छ। कसैको शाखामा त कसैको मुख्य कार्यालयमै काम गर्ने कर्मचारीमाथि कोरोना संक्रमण देखिएको छ। विभिन्न वाणिज्य बैंकमा कार्यरत ६ हजार बढी कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकका डेढ सय भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण देखा पर्न थालेपछि बैंकमा कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण बढाइएको छ।

पछिल्लो समय भने काठमाडौंमै संक्रमितहरु बढेका छन्। कोरोना संक्रमण बढ्दै गएपछि बैंकहरुले क्यास काउन्टरको संख्या घटाएका छन् भने कति शाखाहरु बन्दसमेत गरेका छन् ।

पछिल्लो समय कोरोना संक्रमण बढेपछि बैंकिङ क्षेत्रले भेटघाटमा कडाई गर्नुका साथै प्रविधिकै प्रयोगमा जोड दिएका छन्। बैंकका काउन्टरहरुमा सकेसम्म भिड नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ।

कोरोना संक्रमण बढेसँगै बैंकवित्तमा सन्त्रास थपिएको छ। कोरोना परीक्षण रिपोर्टमा विभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तको फ्रन्टलाइनमा काम गर्नेहरुमा सन्त्रास थपिएको हो।

नेपाल राष्ट्र बैंकले पनि कोरोनाको संक्रमण दर बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिडसँग सम्बन्धित निर्देशन जारी गरेको छ। पछिल्ला केही दिनमा कोभिड–१९ को संक्रमण नयाँ स्वरुपमा फैलँदै गएको र सोही रुपमा नेपालमा समेत संक्रमण फैलने संकेत देखिएकाले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्थाको व्यवसायिक निरन्तरताको समेत सुनिश्चितता गर्नुपर्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न ४ बुँदे निर्देशन जारी गरेको हो। राष्ट्र बैंकले देहायका व्यवस्थाहरु अवलम्बन गरि पूर्ण सजगताका साथ कारोबार सुचारु गर्न-गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले दिएको ४ बुँदे निर्देशन :

१. नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरि सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने ।

२. सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने ।

३. बैंक तथा वित्तीय संस्थाद्वारा संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्ने ।

४. बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी निश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्ययमबाट गर्ने व्यवस्था मिलाउने ।

कोरोनाको पहिलो र दोस्रो महामारीमा बैंकवित्त

बैंकिङ क्षेत्र दैनिकरूपमा भिडभाड हुने ठाउँमा पर्छ। सेवाग्राहीको भिडभाड हुने तथा नियमित सेवा दिनैपर्ने भएकाले यो क्षेत्रलाई संक्रमणको उच्च जोखिम क्षेत्रका रुपमा लिइँदै आएको छ। विगतका दिनहरूमा पनि बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्र ‘कोरोना हटस्पट’ बन्न थालेको थियो ।

करिब ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’मा थिए भने उपत्यकाबाहिर र उपत्यकाभित्र पनि बैंकका शाखा कार्यालयहरूमा कोरोना संक्रमण देखिएको थियो। उपत्यकाबाहिरका धेरैवटा बैंकिङ शाखाका कर्मचारीमा संक्रमण देखिएपछि शाखा कार्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको थियो। अहिलेको अवस्थामा पनि कोरोनाको संक्रमण बढ्दै जाँदा त्यो स्थिती अथवा त्योभन्दा पनि कठिन अवस्थाको सामना गर्नु नपर्ला भन्न सकिँदैन ।

बैंकिङ कारोबार जस्तोसुकै परिस्थितिमा पनि नियमित चलिरहने प्रक्रिया हो। त्यसैले यस क्षेत्रमा सेवा दिने संस्थाहरूले सावधानीका सबैखाले उपाय अवलम्बन गर्दै निरन्तर सेवा दिइरहनुपर्ने हुन्छ।

विगतका दिनमा अन्य क्षेत्रजस्तै बैंक वित्तमा पनि यसले असर गर्यो । बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारी र उनीहरुको परिवार गरि पहिलो र दोस्रो लहरमा १९ हजारभन्दा बढी प्रभावित भए । राष्ट्र बैंकका अनुसार १४ हजार बढी बैंक वित्तका कर्मचारी संक्रमित भएका थिए भने एकाघर परिवार ६ हजार बढी संक्रमित भएको अवस्था थियो ।

१ सय २६ भन्दा बढीको कोरोनाकै कारण ज्यान गएको थियो। जसमध्ये कर्मचारी २४ र परिवारको संख्या १ सय २ जना थिए। पछिल्लो दोस्रो लहरमा कर्मचारी र उनीहरुका परिवार गरेर ८ हजार ६ सय बढी संक्रमित थिए। बैंकिङ क्षेत्रका कर्मचारी र उनीहरुका परिवार कोरोना संक्रमणबाट त्यतिकै प्रभावित भए ।

कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप संकलन स्थिर रह्यो। लकडाउनका बेला आर्थिक गतिविधि ठप्प भएकाले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप संकलन पनि प्रभावित भयो । बैंकहरुले आलोपालोका आधारमा दैनिक २५ प्रतिशत शाखा मात्र सञ्चालनमा ल्याएका थिए ।

Ad