Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डिजिटल माध्यमबाटै कर्जा लिन सकिने मार्गदर्शन बनाउँदै राष्ट्र बैंक

२०७८ माघ १२ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट कर्जा लिन सक्ने व्यवस्था गर्न लागेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भौतिकरुपमा उपस्थित नभई सानातिना कर्जा डिजिटल माध्यमबाटै लिन सकिने व्यवस्था गर्न लागेको हो । यसका लागि राष्ट्र बैंकले अभ्यास गरिरहेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा डिजिटल रुपमा ऋण प्रवाह गर्नका लागि डिजिटल कर्जा मार्गदर्शन (डिजिटल लेण्डिङ फ्रेमवर्क) तर्जुमा गर्ने उल्लेख गरेको थियो । साेही मौद्रित नीतिको बुँदा नम्बर १५२ मा बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाका आवेदनदेखि स्वीकृत गर्नेसम्मको प्रक्रिया विद्युतीय माध्यमबाट गर्नका लागि मार्गदर्शन तयार पारिने उल्लेख छ ।

विद्युतीय माध्यमबाट हुने व्यवस्थाका लागि सहजीकरण गर्न डिजिटल कर्जा(डिजिटल लेण्डिङ फ्रेमवर्क) तर्जुमा गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । उक्त व्यवस्थालाई कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले मार्गदर्शन निमार्णको काम अगाडि बढाएको हो ।

राष्ट्र बैंकका अनुसार यहि आर्थिक वर्षभित्रमा मार्गदर्शन तयार पार्ने गरी काम थालनी गरिएको छ । चालु आर्थिक वर्षभित्रै मौद्रिक नीतिले व्यवस्था गरेबमोजिमको मार्गदर्शन राष्ट्र बैंकले तयार गर्ने भएको हो ।

बैंकखातावालाहरुलाई सानातिना कर्जा माग गर्नका लागि बैंक तथा वित्तीय संस्थामा पुग्नुपर्ने बाध्यता हटाउनका लागि यस्तो अभ्यास अघि सारेको छ । उक्त मार्गदर्शन बनि कार्यान्वयनमा आएपछि अनलाइनबाटै कर्जा लिन सकिने छ ।

डिजिटल कर्जा मार्गदर्शन बनेपछि बैंकमा तलब खाता भएका खातावालहरुले बैंक तथा वित्तीय संस्थामा भौतिक रुपमा उपस्थित नभई कर्जाको लागि अनलाइनबाट आवेदन दिन सक्नेछन् । बैंकसँग सम्पर्क गरेर, अनुरोध गरेर सानोतिनो खालका कर्जाहरु लिन सक्नेछन् ।